स्वास्थ्य

अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियो थोपा दिन सुरु

सरकारले अफगानिस्तानबाट फर्केका नेपालीलाई पोलियोविरुद्धको खोप पोलियो थोपा खुवाउन सुरु गरेको छ। खोप दिन सुरु गरेको पहिलो दिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा ओर्लिने बित्तिकै उनीहरुलाई खोप दिएर मात्र विमानास्थल बाहिर जान पाउने व्यवस्था गरिएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।  

‘आजदेखि नेपाल आइपुग्ने बित्तिकै एयरपोर्टमै दिने व्यवस्था गरेका छौं, यसअघि नै घर पुगेकाहरुलाई स्थानीय निकाय मार्फत दिने व्यवस्था गरेका छौं’, परिवार कल्याण खोप शाखाका प्रमुख डा. झलक गौतमले भने। नेपालमा सन् २०१० मै पोलियो उन्मुलन भएको भएपनि अफगानिस्तान पोलियोको लागि जोखिमस्थल भएकोले पोलियो थोपा दिन लागिएको प्रमुख डा. गौतमले बताए। 

डा. गौतमका अनुसार विश्वभरी नै पोलियो उन्मुलन अन्तिम चरणमा रहेको बेला गत वर्ष अफगानिस्तानमा पोलियोको विरामी भेटिएपछि अफगानिस्तानबाट फर्केकालाई पोलियोविरुद्धको खोप दिने सरकारले निर्णय गरेको हो।‘ विश्वभरीबाट पोलियो उन्मुलन गर्न लागेको समयमा एउटा केश देखिनु भनेको पनि उन्मुलनको लागि चुनौती हो’, उनले भने।  

चिकित्सकका अनुसार पोलियो भाइरस शरीरमा कुनै पनि माध्यमबाट प्रवेश गरेपछि हात र खुट्टाका स्नायुमा असर गर्छ। स्नायुमा असर गरेपछि हात तथा खुट्टा लुलो भई ती अंग लुलो भएर जान्छन् र काम गर्न सक्दैनन्। पोलियो भाइरस पोलियो संक्रमित व्यक्तिले गरेको दिसाबाट अर्को व्यक्तिमा सर्छ। संक्रमित व्यक्तिको दिसा कुनै पनि कारणले पानीमा मिसिएमा र त्यो पानी अर्को व्यक्तिले पिएको अवस्थामा दोस्रो व्यक्ति संक्रमित हुन्छन्।  

अफगानिस्तानमा पुगेका नेपालीहरुमा पोलियोको जोखिम भएपछि त्यसको जोखिमबाट बच्न खोप दिन लागेको खोप शाखाले जनाएको छ। यो खोपले पहिला खोप लिन छुटेका व्यक्तिलाई खोप मिल्ने र लिएकाहरुले पुन लिँदा पनि कुनै असर नगर्ने शाखा प्रमुख डा. गौतमको भनाइ छ। डेढ दशक अघिसम्म पोलियोको समस्या रहेपनि सन् २०१० देखि यता नयाँ बिरामी नभेटिएको शाखाको दावी छ। अफगानिस्तानमा तालिबानी समूहले सत्ता कब्जा गरेपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीहरुको उद्धार गरी नेपाल फिर्ता ल्याएको छ।

कोरोना संक्रमणदर १७ं.७ प्रतिशत  

गत चौविस घण्टामा नेपालमा कोरोना संक्रमणदर १७.७ प्रतिशत रहेको छ। यस्तै, चौविस घण्टामा परीक्षण भएका ८ हजार ७ सय ४ वटा नमूना मध्येमा १५ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। पिसिआर र एन्टिजेन दुवै गरी चौविस घण्टाभित्रमा १८ सय १ जनामा कोरोना पुष्टि भएको छ अर्थात् १५.९ प्रतिशतमा संक्रमण पुष्टि भएका छ। गत चौविस घण्टा भित्रमा नेपालभरिमा ११ हजार ३ सय २६ वटा नमूना परीक्षण भएका थिए। 

थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख २९ हजार ४ सय ४३ जना पुगेको छ। संक्रमित मध्येमा हाल नेपालभरिमा ३८ हजार ३ सय ५१ जना सक्रिय संक्रमित छन्। ती मध्येमा ३५ हजार १ सय ३२ जना होम आइसोलेसनमा छन् भने ३२ सय १९ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। ती मध्येमा ६ सय ८९ जनाको आइसियुमा उपचार भइरहेको छ।  

जापानबाट सबै खोप आइपुग्यो 

कोभ्याक्स फ्यालिटी अन्तर्गत जापाना सरकारले नेपालका लागि दिने भनेको १६ लाख १४ हजार ७ सय ४० हजार डोज अष्ट्राजेनिका खोप सोमबारसम्ममा सबै नेपाल आइपुगेको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। साउनको तेस्रो साता पहिलो चरणमा र दोस्रो चरणमा भदौ ५ र ७ गते गरी नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

दोस्रो चरणमा ७ लाख ६७ हजार ४ सय २० डोज खोप आइपुगेको हो। भदौको ५ र ७ गते गरी नेपाल आइपुगेको खोप सोमबार नै प्रदेश १ र २ मा पठाइसकेको खोप शाखाले जनाएको छ। यसअघि आएको खोप ३ देखि ७ प्रदेशमा पठाइसकेको र बाँकी खोप अभियान अब प्रदेश १ र २ मा हुने शाखाका प्रमुख डा. झलक गौतमले बताए। 

त्यसैगरी चीनबाट खरिद प्रक्रियाबाट आइपुग्ने थप ६० लाख खोप मध्येमा १६ लाख नेपाल आइपुगिसकेको छ।

प्रकाशित: ८ भाद्र २०७८ १०:१३ मंगलबार

अफगानिस्तान पोलियो थोपा