स्वास्थ्य

निजी अस्पताल र क्लिनिकमा बिचौलियाको काम गर्ने दुईजना पक्राउ

विराटनगरका निजी अस्पताल र क्लिनिकका बिचौलियाको काम गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ। विराटनगर क्षेत्रभित्र रहेका निजी अस्पताल र क्लिनिकका लागि बिचौलियाको काम गर्दै आएको आरोपमा मोरङ प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ।

विराटनगर–८ अमर टोलका १८ वर्षीय प्रधुम्न राय  र सोही ठाउँका २३ वर्षीय आनन्दकुमार साहलाई बिहीबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। ‘यहाँका विभिन्न अस्पताल र क्लिनिकमा उपचार गराउन आएका बिरामीलाई झुक्याउने, दुःख हैरानी दिने २ जनालाई पक्राउ गरेका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘उनीहरुले यो अस्पतालमा कोरोना छ, यहाँ राम्रो डाक्टर छैन, यहाँ उपचार राम्रो हुँदैन भन्ने जस्ता झुठा कुरा गर्दै आफ्नो सम्पर्कमा रहेको अस्पताल र क्लिनिकमा उपचार गर्न र सम्पर्कमा रहेका पसलबाट औषधि खरिद गर्न प्रेरित गर्दै दुःख हैरानी दिने गरेका रहेछन्।’

कमिसन आउने भएकाले यस्तो बिचौलियाको गिरोहले बाहिरबाट एउटा अस्पतालमा उपचार गर्न आएका बिरामीलाई अर्कै ठाउँ लैजान खोज्दा पक्राउ गरेको प्रहरीले जनाएको छ। ‘अस्पताल र क्लिनिकको सेटिङमा कहाँ बढी कमिसन आउँछ, त्यसका आधारमा बिरामी लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘यस्ता बिचौलिया कहाँ छन्, कति कमिसन पाउँछन्, कसरी बिरामीलाई झुक्याउने गरेका छन् आदि विषयमा थप अनुसन्धान थालेका छौं।’  

यस्तो बिचौलिया कोसी अस्पताललगायत केही विराटनगरका ठूला नाम चलेका अस्पतालको गेटमा र अस्पताल परिसरमा गएर बिरामीलाई फकाउँदै सेटिङका अस्पताल र क्लिनिकमा लग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। यस्तो बिचौलियाले तराईको ग्रामिण क्षेत्र र पहाडतिरबाट उपचार गर्न आएका मानिसलाई फसाउने गरेका छन्। विराटनगर बाहिरबाट आएका यिनीहरुको समूहले विराटनगरको बिजुली अफिस चोक, शनि मन्दिर र बसपार्क क्षेत्रबाट नै बिरामीलाई फकाउँदै सेटिङका अस्पताल र क्लिनिकमा पुर्याउने गर्दछन्।  

यी बिचौलियाहरु कोसी अस्पताल चोक र रंगेली रोडका सडक पेटीमा उभिएर बिरामीको पछि लाग्र्दै यो डाक्टर यहाँ छैन, त्योभन्दा राम्रो डाक्टर यहाँ छ भन्दै सेटिङवाला अस्पताल र क्लिनिकमा लग्ने गरेका छन्। अस्पताल चोकका एक औषधि पसलले यस्ता बिचौलियलाई यहाँका अस्पताल र क्लिनिकवालाले ५ सय रुपैयाँसम्म दिन्छन् भने बिरामीको अवस्था र बिरामीको ल्याब परीक्षण, औषधि खरिदका आधारमा पनि थप कमिसन पाउने गरेकाले बिचौलियाको बिगबिगी रहेको छ।  

प्रहरी केही वर्षअघि पनि यस्ता बिचौलियालाई विराटनगरबाट पक्राउ गरेको थियो। कोही व्यक्ति यस्ता बिचौलियबाट पीडित भए प्रहरीलाई खबर गर्न मोरङ प्रहरीले अनुरोध गरेको छ। अहिले पक्राउ परेका २ जनाविरुद्ध प्रहरी अभद्र व्यवहार मुद्दा दर्ता गरेको जनाएको छ। 

प्रकाशित: ५ भाद्र २०७८ ११:०७ शनिबार

निजी अस्पताल बिचौलिया