स्वास्थ्य

साकेला गाउँपालिकाले खरिद गर्‍यो एम्बुलेन्स

साकेला गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स। तस्बिर सौजन्य: दिलीप खत्री

खोटाङको साकेला गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। बिरामी, घाईते वा शारीरिक रुपमा अशक्त बनेका पालिकाबासीलाई सहज तरिकाले स्वास्थ्य संस्थासम्म पुर्‍याउने र ल्याउने सुविधाका लागि एम्बुलेन्स खरिद गरेको हो। गाउँपालिकाको गाउँसभाको निर्णय अनुसार ठेक्का प्रणालीबाट भारु ५ लाख ९७ हजार ३०२ रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए।

एम्बुलेन्स खरिदका लागि गाउँसभाले २० लाख विनियोजन गरेको थियो। एम्बूलेन्स खरिद, जनशक्ती/चालक व्यवस्थापनका लागि गाउँपालिकाले बजेट निनियोजन गरेको थियो। अग्नी इनकर्पोरेटेड प्रालि काठ्माडौंबाट असार २१ गते खरिद गरिएको एम्बुलेन्स तीन दिनअघि दिक्तेल आइपुगेको साकेला गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक शेखरकुमार राजवंशीले बताए। हालसम्म दिक्तेलबाट साकेला जाने सडक हिलाम्मे भएका कारण एम्बूलेन्सलाई जिल्ला समन्वय समितिको प्रांगणमा राखिएको छ।

यसअघि बराहपोखरी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाले पनि आफ्नै बजेटबाट एम्बुलेन्स खरिद गरिसकेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बुलेन्स सञ्चालनमा छन्। रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बूलेन्स सञ्चालनमा छन्। 

प्रकाशित: ३ भाद्र २०७८ ०६:१५ बिहीबार

साकेला गाउँपालिकाले खरिद गर्‍यो एम्बुलेन्स