स्वास्थ्य

कोरोना संक्रमण बढ्दो, थप कडाइ गरिँदै निषेधाज्ञा

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता -साउन २१–२७_ मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो। यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो। यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्छन्, 'राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो, यसलाई रोक्न ८ बजेभित्र नै गन्तव्यमा पुगिसक्नुपर्ने गरी निर्णय गरिएको हो।'

स्थानीय प्रशासनले मानवीय लापरबाहीका कारण कोभिड–१९ फैलने खतरा रहेको निष्कर्ष निकाल्दै आदेशलाई केही कडाइ गर्न थालेको हो। अन्य विभिन्न दर्जनभन्दा बढी जिल्लाले समेत कडाइ गर्दै निषेधको आदेश जारी गर्न थालिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेल कोरोना सङ्क्रमण दरमा वृद्धि भएसँगै काठमाडौँ ललितपुर, भक्तपुरसहित झापा, इलाम, पर्सा, दाङ, बाँके, सुर्खेतलगायत जिल्लाले आदेशमा केही कडाइ गर्दै थपेको बताउँछन्। यसरी आंशिक वा पूर्ण रुपमा आदेश जारी गर्ने ५७ जिल्ला रहेका छन्। मुलुकभर नै निषेधाज्ञामा कडाइ गर्न थालिएको छ।

गृह मन्त्रालयका प्रवक्ता पोखरेलले कोरोना जोखिम आङ्कलन गरेरै स्वास्थ्य मन्त्रालयले पठाएको सूचनाका आधारमा गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेशन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताP. कोरोनाको पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न भनिएको हो।

गृहले अद्यावधिक विवरण यकिन गरी दैनिक रुपमा विवरण पठाउन र अस्पतालको अनुगमन र सुपरिवेक्षण गर्न पनि निर्देशन दिइसकेको छ। उनका अनुसार केही जिल्लाले सवारी नै सञ्चालन गर्न रोक लगाएर आदेश जारी गरिसकेका छन्।

विगतको अनुभव हेर्दा निषेधको आदेशले कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण योगदान दिएको स्वास्थ्यविज्ञले बताउँदै आएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा= समिरकुमार अधिकारी सङ्क्रमण रोक्न निषेधको आदेश महत्वपूर्ण टुल भएको नेपालको विगतको उदाहरणले नै देखाउने बताउँछन्। सरकारले आवश्यकता हेरी निषेधको आदेश जारी गर्ने अधिकार प्रजिअलाई नै दिएका कारण स्थानीय प्रशासनले सङ्क्रमणको अवस्थाको आधारमा आदेश कडाइ र खुकुलो बनाउँदै आएका छन्।

एक हजारदेखि दुई हजारको हाराहारीमा दैनिक सङ्क्रमण देखिँदै आएकामा पछिल्ला केही हप्तामा बढेर दुईदेखि चार हजारको हाराहारीमा सङ्क्रमित देखिन थालेका छन्। यो बीचमा एक दिनमा पाँच हजार बिरामी र एक दिन ५५ जनाको समेत मृत्यु भएको विवरण आएको थियो। दोस्रो लहर कम भएको पछिल्ला केही हप्तामा यो उच्चतम सङ्क्रमण र मृत्यु सङ्ख्या हो। शुक्रबार मात्रै ११ हजार सात सय आठ पीसीआर परीक्षणमा दुई हजार सात सय ६३ र छ हजार आठ सय ७४ एन्टिजेन परीक्षणमा एक हजार एक हजार ५२ जना गरी कूल तीन हजार नौ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको थियो। 

प्रकाशित: ३० श्रावण २०७८ १०:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App