अर्घाखाँची जिल्ला कारागारमा एकैपटक ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। सन्धिखर्क नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त टोलीले ६४ जना कैदीबन्दीमा एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
६० जना (९३.७५ प्रतिशत) कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागार पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताए। अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ। कोरोना संक्रमणका कारण जिल्लामा ७९ जनाको ज्यान गइसकेको छ। साउन १६ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ।
कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएकाले समस्या निम्तिएको हो। २५ जना कैदीबन्दी राख्न सकिने कारागारमा दोब्बरभन्दा बढी राख्दा कोचाकोच भएर बस्नुुपर्ने बाध्यता छ। २०४५ सालमा निर्माण गरिएको कारागार द्वन्दकालमा माओवादी आक्रमणबाट क्षतिग्रस्त भएको थियो। त्यसपछि टालटुल पारेर २०७१ सालदेखि यहाँ कैदिबन्दी राख्न सुरु गरिएको हो।
प्रकाशित: २९ श्रावण २०७८ ०५:३३ शुक्रबार