स्वास्थ्य

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले नेपालका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपालस्थित पाकिस्तानी दूतावासका अधिकारीले बिहीबार स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई भेटेर भेन्टिलेटरलगायत सामग्री हस्तान्तरण गरेका हुन्। पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

पाकिस्तानले यसअघि पनि सोही शीर्षकमा चार करोड रूपैयाँभन्दा बढीको चेक उपलब्ध गराएको थियो। स्वास्थ्य सामग्री ग्रहण गर्दै स्वास्थ्य सचिव पोखरेलले पाकिस्तान सरकार र त्यहाँका जनतालाई सहायताका लागि धन्यवाद दिएका थिए । पाकिस्तानी दूतावासका अधिकारीले कोभिड–१९ विरुद्धको लडाइँका लागि यस किसिमको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: २९ श्रावण २०७८ ०४:१७ शुक्रबार

पाकिस्तानी दूतावास स्वास्थ्य सचिव डा. रोशन पोखरेल स्वास्थ्य सामग्री सहयोग