स्वास्थ्य

संरक्षण गृहमा आश्रितहरुलाई खोप

प्रदेश १ का विभिन्न संरक्षण गृहमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ। मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकालाई बुधबारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिएको हो।  

अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले शुभारम्भ गरेकी छन्। सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्दार गरी राखिएको विराटनगर–१० को मानव सेवा आश्रमबाट अभियानको सुरुवात गरिएको हो।

खोप अभियान सुरुवात गर्दै मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाइने बताइन्। मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सबैलाई खोप लगाइने उनले भनिन्। मन्त्री राईले भनिन्, ‘अपांगता भएका तथा अशक्त सबैलाई अभियानमा समेटिने छ।’ लक्षित समूहले खोप लगाइ रहे पनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भए लगत्तै अभियान सुरुवात गरिएको मन्त्री राईले बताएकी छन्।  

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सबैलाई खोप लगाइने बताइन्। उनले बुधबार ३ सय बढीलाई खोप लगाइने जानकारी दिइन्। मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालीन पुनस्र्थापना गृह, ओरेक, माइती नेपाललगायतमा संरक्षणमा रहेकाहरुलाई खोप लगाइएको छ।

प्रकाशित: २८ श्रावण २०७८ १३:५६ बिहीबार

मानव सेवा आश्रम