स्वास्थ्य

संक्रमण बढेपछि नगरलाई पूर्ण रुपमा बन्द गर्ने तयारी

फाइल तस्बिर

दिनानुदिन कोभिड–१९ को संक्रमण दर बढ्न थालेपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण रुपमा बन्द गर्ने तयारी गरिएको छ। दैनिकजसो गरिएको कोभिड–१९ को परीक्षणका क्रममा संक्रमण दर अधिक देखिन थालेपछि १५ वडा रहेको नगरपालिकालाई १० दिनका लागि बन्द गर्ने तयारी गरिएको हो।  

राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात व्यवसायी, होटल व्यवसायी लगायतको बुधबार नगरपालिकामा बसेको बैठकले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै आगामी भदौ १ गतेदेखि १० गतेसम्मका लागि नगरपालिकालाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले १० दिने बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य  सामग्रीको व्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरेको छ।  

पछिल्लो समय खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरमा पुःन संक्रमण दर तीव्र गतिमा बढ्न थालेको छ। खुला आवत–जावत, स्वास्थ्य सुरक्षाको पालनामा हेलचक्र्याँइ लगायतका कारण संक्रमण दर पुन बढेको हो। हाल हाटबजार, होटल तथा पसल, सरकारी तथा गैर–सरकारी कार्यालयमा स्वास्थ्य सुरक्षाको पालनामा बेवास्ता गर्न थालिएको छ। संक्रमित क्षेत्रसँगको सिधा यातायात सम्पर्कका कारण पनि संक्रमण फैलिएको अनुमान गरिएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ०४:५० बिहीबार

संक्रमण बढेपछि बन्द गर्ने तयारी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी