स्वास्थ्य

अक्सिजन सिलिण्डरसहित जुम्ला अस्पताल पुगे १८ वर्षीय सुजल

वीरेन्द्रनगर ६ सुर्खेत जिल्ला घर भइ हाल सुकेधारा काठमाण्डौँमा बस्ने १८ वर्षीय सुजल सापकोटा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अक्सिजन सिलिण्डर ल्याएर आइपुगे। उनी २० लिटरका २० वटा अक्सिजन सिलिण्डर सहित पुगे। आफुले ल्याएको अक्सिजन सिलिण्डर अस्पतालका निर्देशक डा. राजिव शाह र द्धन्द्धबहादुर शाहीलाई हस्तान्तरण गरे। उनले भने,‘कोरोना कालमा अक्सिजनको चरम अभाव देखिएको छ। अहिले देखि अक्सिजन सिलिण्डरको जोहो गर्नाले पछि धोका पाइनेछैन। तेस्रो भेरयण्ट बालबालिका केन्द्रीत भएकोले अझ संवेदनशिल बन्न जरुरी देखिन्छ। यी सिलिण्डर पनि यही भेरियण्टमा प्रयोग हुनेछन। ’

एनआरएनए युगाण्डाको सहयोगमा प्राप्त अक्सिजन सिलिण्डर ल्याएर जुम्ला पुगेका सुजलले कोभिड महामारीबाट कसैले पनि अक्सिजन अभावका कारण मुत्यु हुन नपरोस भन्ने मान्यता रहेको प्रतिक्रिया दिए। उनले भने,‘कोरोनाको तेस्रो भेरियण्ट आइसकेको छ। यसले बालबालिकालाई प्रभावित बनाउने देखिन्छ। कर्णालीका बालबालिकालाई थोरै भएपनि राहत मिलोस भनेर अक्सिजन सिलिण्डर प्रदान गरिएको छ। ’ युगाण्डा स्थित एनआरएनए संग सुजल र डा. सुहेल सापकोटाले अक्सिजन सिलिण्डरको लागि सहयोग गर्न पहल गरेका थिए। उनले भने,‘भौगोलिक रुपमा कर्णाली अति दुर्गम छ। दुर्गममा रहेको सुविधा सम्पन्न अस्पतालमा अक्सिजन दिदा धेरैभन्दा धेरै बिरामीले उपयोग गर्ने विश्वास छ। ’सुजल र डा. सुहेल दाजुभाई हुन।

सुजलले भने,‘कर्णालीमा अक्जिसन अभावले बिरामी छटपटिरहेको समाचार सुन्न पाइन्छ। त्यो देखेर एनआरएनए संग समन्वय गरेर अक्सिजन प्राप्त भएको हो। यो सिलिण्डर भौतिक उपस्थितीमा दिन पाउँदा उत्साहित छु।’ सुजलले भने,‘मैले सिलिण्डर ल्याएर बुझाएको छु। दाजु डा. सुहेल सापकोटाको भौतिक उपस्थिती भएन। उहाँ जहाँ भएपनि तनमन कर्णालीमै छ।

डा. सुहेल सापकोटा सैनिक महाविद्यालय भक्तपुरबाट एसएलसी पास गरेका थिए। नेपाल आर्मी मेडिकल कलेजबाट एमबीबीएस उतिर्ण गरे। एक वर्ष ह्याम्स हस्पिटल काठमाण्डौँमा रहेर डक्टरी कामको अनुभव बुटुले। अहिले एमडीको तयारी गरिरहेका छन। पहिले देखि डक्टर बनेर दुर्गमको सेवा गर्ने धोको रहेको बताए।

त्यसैगरी सुजल सापकोटा २०७४ सालमा काष्ठमण्डप विद्यालय मण्डिखाटार काठमाण्डौबाट एसइइमा ४ जिपिए ल्याएर उतिर्ण हुने पहिलो मेधावी विद्यार्थी हुन। उनी अहिले सेन्टजेभिएर्स कलेज माइतिघरमा साइन्स बिषय लिएर पढ्दैछन। उनी पनि डक्टर बन्ने बाटोमा अग्रसर छन। उनले भने,‘भविष्यमा डक्टर बन्ने धोको छ। त्यही भएर स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा ध्यान केन्द्रीत भइराखेको छ। अहिले देखि नै बिरामीको सेवा गर्ने इच्छा जागेको छ। ’ अक्सिजन ल्याएर अस्पतालमा बुझाउन पाउँदा उत्साहित भएको बताए।

डा.सुहेल र सुजलका बुबा यामबहादुर सापकोटा सापकोटा जुम्ला स्थित नेपाली सेनाको २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति हुन। बाहिनीपति सापकोटाले यसअघि ४० लिटरका १० वटा सिलिण्डर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई प्रदान गरेका थिए। यो सहयोग पनि एनआरएनए युगाण्डाको थियो। उनी पहल कर्ता थिए। एनडिसी कोर्ष पुरा गर्न नाइजेरिया गएको बेला दुई छोरा पनि नाइजेरीया संगै घुम्न गएका थिए। त्यो समयमा भएको सम्बन्धका कारण अक्सिजन सिलिण्डर प्राप्त भएको बाहिनीपति सापकोटा बताउँछन। उनले भने,‘छोराहरुले गरेको यो कार्य निकै प्रसंसनीय छ। ’

नाइजेरीयमा कैलाली घर भएका हिक्मत बहादुर थापा बस्छन। उनी एनआरएनएका समन्वयकर्ता हुन। सुजलले भने,‘ जुम्लाका नागरिकले अक्सिजनका कारण दुख नपाओस। कसैलाई पनि गाह्रो नहोस भन्ने विश्वासले अक्सिजन सिलिण्डर दिइएको छ। अहिलेको प्रमुख आवश्यकता अक्सिजन हो। धेरैले अक्सिजन पाउँदैनन।

सुजल र डा. सुहेलको पहलबाट प्राप्त अक्सिजन हस्तान्तरण गर्न सुजल सहित बाहिनीपति सापकोटा,गणपति रविन थापा र मेजर दिनेश न्यौपाने अस्पताल पुगेका थिए। डा. सुहेल र सुजललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले सम्मान पत्रका साथ सम्मान गरेको छ।

बाहिनीपति सापकोटा सम्मानित  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले श्री नम्बर २४ बाहिनी अड्डा जुम्लाका बाहिनीपति यमबहादुर सापकोटालाई सम्मान गरेको छ। कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा साथ दिएको भन्दै प्रतिष्ठानले सम्मान पत्रका साथ सम्मान गरेको हो।  

कोभिड संक्रमण तथा रोकथाममा प्रतिष्ठान संग समन्वयकारी भुमिका खेलेको भन्दै सम्मान गरिएको प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धन्द्धबहादुुर शाहीले जानकारी दिए। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहले सम्मान पत्र प्रदान गरेका हुन।

बाहिनीपति सपकोटाले व्यक्तिगत तथा संस्थागत हिसावले कोरोना महामारी रोकथाममा साथ दिएको प्रतिष्ठानको निष्कर्ष छ। सम्मान पत्रमा भनिएको छ,’‘कोरोना भाइरस संक्रमण तथा रोकथाममा यस कर्णाली प्रतिष्ठान संग समन्वय तथा सहकार्य गर्दै व्यक्तिगत तथा संस्थागत प्रयास बाट सहयोग गरेकोमा सो कार्यको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गरिएको छ। ’

बाहिनीपति सापकोटाले कोरोना संक्रमित बिरामीहरुका लागि अत्यावश्यक अक्सिजन सिलिण्डर १० थान हस्तान्तरण गरेका थिए। अक्सिजन सिलिण्डरले बिरामीहरुलाई बचाउन उल्लेख्य योगदान पुर्याएको बताएको छ।  

बाहिनपति सापकोटाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हरेक स्थानीयतहमा पुग्ने क्वारेन्टिन र आइसोलेसनमा बसेका संक्रमितको उर्जा थप्ने काममा समेत खटिएका थिए।

प्रकाशित: २७ श्रावण २०७८ ११:३६ बुधबार

अक्सिजन