स्वास्थ्य

भत्तामा भेदभाव

कोशी अस्पतालका कर्मचारीले जोखिम भत्ता वितरणमा भेदभाव गरिएको गुनासो गरेका छन्। केही कर्मचारीले पाउने केहीले नपाउने अवस्था आएपछि कर्मचारीहरुले अस्पताल प्रशासनले जोखिम भत्ता वितरणमा भेदभाव गरेको गुनासो गरेका हुन्।  

अस्पताल प्रशासनले पहुुँचवालाका लागि मात्रै भत्ताका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्दा जोखिमपूर्ण तरिकाले काम गर्ने कर्मचारी भत्ताबाट बञ्चित भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र ६२ बेडको क्षमतामा सञ्चालनमा छ।

अस्पतालका प्रमुख, मेट्रोन, केही चिकित्सक र स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारीसम्मले असार महिनाको जोखिम भत्ता पाइसकेका छन्।

अस्पतालकै सिफारिसमा स्वास्थ्य मन्त्रालयले जोखिममा खट्ने चिकित्सक एवं कर्मचारीलाई तलबको ५० प्रतिशत मासिक भत्ता दिने गरेको छ। तर विभेद्पूर्ण तरिकाले अस्पताल प्रशासनले मिलेमतोमा आफू र आफू नजिककाको मात्रै भत्ताका लागि मन्त्रालयमा नाम पठाउँदा जोखिममा रहेका अन्य कर्मचारी मारमा परेका छन्।

बिरामीको अत्यधिक भिडभाड हुने ओपिडी सेवा, आकस्मिक कक्ष, बिलिङ काउण्टर, टिकट काउण्टर, कोरोना शंकास्पदको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिने फिवर क्लिनिकमा खट्ने कर्मचारी, कार्यालय सहयोगी, सरसफाइकर्मीलगायत भने भत्ताविहीन भएका छन्।  

भत्ता नआएको गुनासो गरेपछि एक जनाको असार महिनाको भत्ता आएको तर, अन्य कर्मचारीको भत्ता नआएको काउन्टर इन्चार्ज लक्ष्मी थापाले बताइन्। ‘मलगायत १२ जना कर्मचारीले भत्ता नपाएको गुनासो गरेका थियौं,’ उनले भनिन्, ‘तर, मेरो मात्रै असार महिनाको भत्ता आयो अरुको आएन।’ उनका अनुसार असारभन्दा अघिको भत्ताका लागि अस्पतालले नै नाम पठाइ दिन्छ भन्नेमा कर्मचारी ढुक्क थिए। तर, कसैको पनि नाम नपठाएको थाहा भएपछि अस्पतालमा गुनासो गरेका थियौं। अन्य कर्मचारीले भत्ता नपाएको विषयमा मेसु आएपछि कुरा राख्ने बताइन्।  

अस्पतालमा नेपाल सरकार र अस्पताल विकास समितिकोसहित चिकित्सक, नर्सिङ, प्रशासनिक एवं प्रयोगशालाका कर्मचारी, प्राविधिक, सुरक्षागार्ड, श्रेणीविहीन गरी ५ सय १६ जनाको दरबन्दी छ। अरु दरबन्दी रिक्त छ। २ वर्षे छात्तवृत्ति करारतर्फ चिकित्सक र नर्सिङ कर्मचारी गरेर ३७ जना एवं कार्यालय सहयोगीसहित डोर हाजिरीतर्फ ४८ जना कार्यरत छन्।

अस्पताल स्रोतका अनुसार व्यवस्थापनमा खटिएका, बीमा, फार्मेसी र काउण्टरमा काम गर्नेहरुले भत्ता नपाएको गुनासोसहित निवेदन दिएका छन्। अस्पतालकी मेट्रोन एवं सूचना अधिकारी मञ्जु यादवले कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिनेले मात्रै भत्ता पाएको दाबी गरिन्। ‘अस्पतालको प्रशासनमा कार्यरत कर्मचारीले कोभिडको व्यवस्थापनमा कुनै न कुनै हिसाबले भूमिका खेलेका छन्,’ यादवले भनिन्, ‘त्यही भएकाले मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई भत्ताका लागि सिफारिस गरिएको हो।’

अस्पतालमा कार्यरत सबै कर्मचारीले भत्ता पाउनुपर्ने अवस्था रहे पनि निर्देशिकको दायराअनुसार सीमित कर्मचारीको मात्रै नाम सिफरिस गर्न बाध्य हुनु परेको उनले बताइन्। कोशी अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामी आउने गरेका छन्। 

प्रकाशित: २६ श्रावण २०७८ १३:२३ मंगलबार

कोशी अस्पताल