स्वास्थ्य

भिडभाड हरायो, कोरोना हराएन

अर्घाखाँचीमा १६ गते शनिबारदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसानजस्तै भएको छ। निषेधाज्ञाले भिडभाड नियन्त्रणमा आएपनि कोरोनाको ग्राफ भने दैनिक उकालो लाग्दै गएको छ। निषेधाज्ञा लगाइए पनि संक्रमण दरमा कमी आउन सकेको छैन।  

गाउँगाउँसम्म पुगेको कोरोना संक्रमणदर कम गर्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि संक्रमण दर दिनानुदिन बढिरहेको छ। निषेधाज्ञा जारी हुने दिन संक्रमितको संख्या ५७१ थियो। निषेधाज्ञापछि शुक्रबार सम्ममा १८८ जना संक्रमित थपिएका छन् भने ४७ जना डिस्चार्ज भएका छन्। हालसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ६ सय ११ पुगेको छ। कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ८ सय २५ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।

शुक्रबार २४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ सय १० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ७६ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।

जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीय सहितको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो। निषेधाज्ञालाई थप कडाइ गर्न सन्धिखर्क, चुत्रावेसी बजार, जिल्लाका व्यस्त ठाउँहरुमा प्रहरी परिचालन गरिएको छ। निषेधाज्ञा लागू भएसँगै अत्यावश्यक साधान बाहेक नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला बाहिरबाट अत्यावश्यक कामका लागि आउनेहरुले जिल्ला प्रशासनसँग सहजीकरण गरेरमात्र प्रवेश गर्न पाइने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए।

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफूल, दूध, डेरी, मासु पसल, कृषिजन्य पसल विहान ६ बजेदेखि विहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ। औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन्। निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था, सभा–सम्मेलन, गोष्ठी, भोजभतेर गर्न पाइने छैन भने लोक सेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परिक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लगायत निकायका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुनेछन्।

साउन ३० गते राति १२ बजेसम्म लागू गरिएको निषेधाज्ञाको समयमा कोही कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मध्यरातदेखि लागू भएको निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्न र जिल्ला कोरोनाको अति उच्च जोखिममा रहेकाले नियमको पूर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: २२ श्रावण २०७८ १३:४८ शुक्रबार

४१ जिल्लामा निषेधाज्ञा कोरोना संक्रमण दर