स्वास्थ्य

अर्घाखाँचीमा ३० प्रतिशतले मात्र गराए स्वास्थ्य बिमा

स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि अर्घाखाँचीमा ३० प्रतिशत नागरिकले बिमा गराएका छन्। २०७५ जेठ १ गतेदेखि जिल्लामा सेवा सुरु भएकोमा गत असार मसान्तसम्म करिब ६० हजारले बिमा गरेका छन्।  

गत असार मसान्तसम्म ५८ हजार ६ सय २९ जनाले स्वास्थ बिमा गरेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी रामबहादुर थापाले जानकारी दिए। उनकाअनुसार पुरुष २८ हजार एकसय २० जना र महिला ३० हजार पााचसय ९ जना गरि जम्मा ५८ हजार ६ सय २९ जना (जनसंख्याको ३० प्रतिशत) बीमा योजनामा समावेश भएका हुन्।  

जिल्लाका ६ वटा स्थानीयतह मध्ये सबैभन्दा धेरै पाणिनी गाउँपालिकामा १२ हजार ६ सय ९९ जना (जनसंख्याको ४८ प्रतिशत), छत्रदेव गाउँपालिकामा ११ हजार ३ सय २८ (जनसंख्याको ४५ प्रतिशत), सन्धिखर्क नगरपालिकामा १३ हजार १ सय २४ जना (जनसंख्या मध्ये ३२ प्रतिशत), शितगंगा नगरपालिकामा १० हजार ४ सय ७५ जना (जनसंख्याको २४ प्रतिशत), मालारानी गाउँपालिकामा ५ हजार ९ सय ८३ जना (जनसंख्याको २१.३३ प्रतिशत) र भुमिकास्थान नगरपालिकामा ५ हजार २० जना (जनसंख्याको १५.३७ प्रतिशत) ले स्वास्थ बीमा गरेका स्वास्थ्य बिमा बोर्ड अर्घाखाँचीले जनाएको छ।

२०६८ सालको जनसंख्याअनुसार अर्घाखाँचीमा १ लाख ९६ हजार ८ सय ९६ जनसंख्या रहेको छ। जसमध्ये ३० प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेका छन्। स्वास्थ्य बीमाको लागि ५ जना सदस्य रहेको परिवारले ३ हजार ५ सयमा स्वास्थ्य बिमा गराउन सक्नेछन्। बिमा बापत रु १ लाख बराबरको बार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ। जिल्लामा अर्घाखाँची अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बल्कोट, प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र आखा उपचार केन्द्र सन्धिखर्कमा बिमाबाट स्वास्थ्य सेवा उपलब्ध रहेको स्वास्थ्य बिमा बोर्ड सन्धिखर्कका दर्ता अधिकारी थापाले बताए ।  

अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमकाअनुसार बाहिरी जिल्लासँग नजिक भएका नागरिकहरुले उतै बिमा गराउने भएकाले संख्या थोरै भएको हो। ‘गुल्मी, पाल्पा वा कपिलवस्तु सँग नजिक भएकाले उतै बिमा गराउँछन्, उनले भने,‘पाणिनी र शितगंगाका कतिपय नागरिकलाई सन्धिखर्क भन्दा बाहिरी जिल्ला नजिक पर्छ, त्यसले गर्दापनी केही संख्या घटेको हो।’ यद्यपि अझै बिमा सुविधाका बारेमा सुसुचित गर्न आवश्यक रहेको उनको भनाई छ।

प्रकाशित: २० श्रावण २०७८ ०७:४१ बुधबार

स्वास्थ्य बिमा स्वास्थ्य बिमा कार्यक्रम बिमा बोर्ड सन्धिखर्क ३० प्रतिशत