स्वास्थ्य

यूएनएफपिएद्वारा नेपाललाई आठसय थान अक्सिजन सिलिन्डर हस्तान्तरण

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाललाई थप जीवनरक्षक सामग्री प्रदान गरेको छ। नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले १ करोड १९ लाख (१ लाख अमेरिकी डलर) मूल्य बराबरको आठसय थान अक्सिजन सिलिन्डर प्रदान गरिएको बताइन्।

उपप्रतिनीधि डा. बेगमले स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीलाई ती सामग्री हस्तान्तरण गरेकी हुन्। कोभिड–१९ को दोस्रो लहरविरुद्ध सङ्घर्ष गरिरहेको समयमा नेपालले अक्सिजनको ठूलो अभावभोग्नु परेको थियो।  

यसअघि चीन सरकारको सहयोगमा यूएनएफपिएले महिला तथा युवतीहरुका लागि जीवन रक्षक यौन तथा प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसाविरुद्धका सेवाहरुको निरन्तरता सुनिश्चित गर्दै संक्रमण रोकथाम गर्ने नेपाल सरकारको प्रयासलाई मद्दत गर्न ७,२४८ थान पिपिई कीट उपलब्ध गराएको थियो। त्यसका अतिरिक्त, अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रहरु र सुरक्षित आवास गृहहरुमार्फत यूएनएफपिएले चीनको सहयोगमा कोभिड–१९ र मनसुन आपतकालीन प्रतिकार्यस्वरूप देशभरी महिला तथा किशोरीहरुलाई ३४२,९३० थान सेनेटरी प्याड वितरण गरेको छ।

प्रकाशित: १८ श्रावण २०७८ ११:४४ सोमबार

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष अक्सिजन