स्वास्थ्य

उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो

निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ। 

अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा. सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा. रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’

वीर अस्पतालमा ५ सय क्षमताको कोभिड अस्पताल रहेकोमा आइतबारसम्ममा ९२ जना संक्रमित भर्ना भइसकेका छन्। तीमध्येमा ७० जना आइसियुमा छन्। अस्पतालको आइसियु क्षमता १ सय शैड्ढया हो। यो अस्पतालमा दैनिक १०÷१२ जनाको दरले भर्ना हुने गरेको अस्पतालका युनिफाइड कोभिड डेजिनेटेट अस्पतालका प्रमुख प्रशासक डा. जागेश्वर गौतमले जानकारी दिए।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सबै वार्ड कोरोना संक्रमितले भरिएको अस्पतालले जनाएको छ। अस्पतालमा ४० जनरल शैड्ढया, २० आइसियुको क्षमता हो। चार÷पाँचदेखि दैनिक लक्षण भएका बिरामीको भर्ना हुने दर बढेको अस्पतालका अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले बताए।  

चिकित्सकका अनुसार लक्षण भएका बिरामी भर्ना भएका छन्। ‘भर्ना भएका धेरैजसो आइसियु तथा अक्सिजन चाहिने अवस्थाका धेरै छन्,’ शिक्षण अस्पतालका कोभिड १९ संयोजक डा. दासले भने। भर्ना हुनेहरू खोप केन्दबवाट एक साताअघि खोप लिन गएका धेरै भेटिएको चिकित्सकको भनाइ छ। ‘खोप लगाउन गएको पाँच/दिनपछि ज्वरो आएर भर्ना हुन आएको पाइएको छ,’ डा. दासले भने। ‘बिरामीको कुरा बुझ्दा खोप केन्द्र र खोप प्रमाणीकरणको लाइनबाटै सरेको देखिन्छ,’ डा. पुनले भने।  

संक्रमणको स्रोत खोप केन्द्र र प्रमाणीकरण स्थल  

निषेधाज्ञा खुलेसँगै व्यापारिक केन्द्रदेखि सार्वजनिक यातायात खुल्नु र जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्दै जानुले संक्रमण तिब्र रूपमा फैलिएको चिकित्सकहरूको विश्लेषण छ। समयमै जनस्वास्थ्यको मापदण्ड पालना नगरेमा संक्रमणदर थप चुचुरोमा पुग्न सक्ने चिकित्सकहरूले औंल्याएका छन्। डा. दासका अनुसार अहिलेको कोभिड संक्रमण मौसमी नभई जनस्वास्थ्य मापदण्ड उल्लंघनकै कारणले भएको हो। नेपालमा कोरोना संक्रमण दोस्रो लहरको नियन्त्रण विना नै निषेधाज्ञा खुला गरिएकोले पुनः तीव्र संक्रमणतिर गएको हो। कोभिड संक्रमण फैलिने तरिकामा कुनै मौसम नभएर जनस्वास्थ्यको मापदण्डको उल्लघंन नै प्रमुख कारण देखिएकोले आम सबैले खोप नलाएसम्म जनस्वास्थ्यको मापदण्ड कडाइपूर्वक पालना गर्न डा. दासको सुझाव छ।

त्यसबाहेक सरकारले मानिसको बढी जमघट हुने स्थल सार्वजनिक यातायात, बजारलगायत पुनः बन्द गर्नुपर्ने आवश्यकता देखिन्छ। ‘सार्वजनिक बस र बजार पुनः बन्द नगरेमा संक्रमण दोस्रो लहरकै रूपमा फैलिन सक्छ,’ उनले भने। दोस्रो लहरकै जस्तो संक्रमित बढेमा अहिले पनि अस्पताल सबै किसिमले सक्षम नभएकोले सरकार र जनता दुवैले कडाइका साथ जनस्वास्थ्यमा मापदण्ड पालना गर्नु पर्ने देखिएको उनको भनाइ छ। ‘ अक्सिजन, शैड्ढया भए पनि जनशक्ति पर्याप्त तयारी अवस्थामा छैनन्,’ डा. दासले भने।  

अहिले पनि धेरै जनसंख्याले खोप लगाउन बाँकी रहेकोले सरकारले जसरी पनि समयमै सवैलाई खोप दिने कार्यमा लाग्नु पर्ने डा. पुनको सुझाव छ। ‘खोप केन्द्र सुरक्षित बनाएर मात्र खोप दिनुप¥यो,’ उनले भने। सुरक्षित खोप केन्द्रको लागि सरकारले खुला ठाउँहरूलाई प्रयोग गर्नसक्ने डा. पुनको सुझाव छ। खोप लगाएका र नलगाएकामा बराबर भाइरल लोड देखिएकोले खोप लगाएकाहरूले पनि कोरोना सार्ने सम्भावना भएकोले कडाइपूर्वक जनस्वास्थ्यको मापदण्ड पालना नै मुख्य उपाय भएको डा. पुनले बताए।

‘अस्पतालमा आएका बिरामीहरूमा हेर्दा खोप लगाएका र नलगाएकाहरूमा कोभिड–१९ को भाइरल लोड बराबर देखिएको छ,’ उनले भने। डा. पुनका अनुसार खोप लगाएकाहरूबाट पनि अरूमा संक्रमण भएपछि अमेरिकाले आफ्ना नागरिकलाई खोप लगाउनको लागि १ सय रूपैयाँ डलर दिएर पनि खोप लगाउने निर्णय गरेको देखिन्छ। नेपालमा पनि छिटोभन्दा छिटो सबैलाई खोप दिन सकेमा कोरोनाको जोखिम र मृत्युबाट बचाउन सकिन्छ।  

संक्रमण दर २० प्रतिशत  

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर २०.३ प्रतिशत रहेको छ। परिक्षण भएका १२ हजार ३ सय ३६ वटा नमुनामध्येमा १२ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख ५९ हजार ३ सय ७ जना पुगेका छन्। आइतबार अघिल्लो दुई दिनको तुलनामा केही प्रतिशत कम संक्रमण दर रहे पनि परिक्षण संख्या पनि कम रहेको तथ्यांकले औंल्याएको छ। संक्रमण दर एक सातायता २५ प्रतिशतको वरिपरी देखिएको थियो। गत चौबिस घण्टामा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८ सय ७५ पुगेको छ।

प्रकाशित: १८ श्रावण २०७८ ०१:३४ सोमबार

कोरोना बिरामी ह्वात्तै बढ्यो