स्वास्थ्य

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सामाजिक विकास मन्त्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै । तस्बिरः पुष्पराज/नागरिक

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। यूनाइटेड मिसन टु नेपाल (यूएमएन)डोटी कलस्टरले सुदूरपश्चिम सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।  

शुक्रबार एक कार्यक्रमका बीच प्रदेशको सामाजिक विकास मन्त्रालयलाई १९ लाख ४५ हजार हजार ४ सय ५५ रुपैयाँको कोभिड सामग्री हस्तान्तरण गरिएको हो। कोरोनासँग जुध्न र रोकथाम गर्न यी सामग्रीले प्रदेश सरकारलाई थप सहज होस भन्ने उद्देश्यले आइसिप्याप मेसिन २ थान, चिल्र्डेन मास्क १४ हजार ५ सय थान, एन्टिजेन टेस्ट किट एसडी ब्लोसेन्सर १८ सय पिस र एन्टिजेन टेस्ट किट स्ट्याटस कम्पनीको ७ सय पिस सामाजिक विकास मन्त्री लालबहादुर खड्कालाई हस्तान्तरण गरेको यूनाइटेड मिसन टु नेपाल डोटी कलस्टरका प्रमुख विशालबाबु श्रेष्ठले बताए।  

यी स्वास्थ्य सामग्रीले प्रदेश सरकारलाई थप सहयोग पुग्ने भन्दै सामाजिक विकास मन्त्री खड्काले यूनाइटेड मिसन टु नेपाललाई धन्यावाद व्यक्त गरे। यूएमएनले यस अघि पनि कोरोनाको पहिलो चरणमा विभिन्न संघसंस्थालाई ७५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७८ १३:४९ शुक्रबार

बालबालिका स्वास्थ्य सामग्री कोरोनाको जोखिम