स्वास्थ्य

जुम्लाका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी

जुम्लाको ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा टर्च बालेर सुत्केरी गराउनु पर्ने बाध्यता छ। स्वास्थ्य संस्थामा न सोलार सिस्टमको प्रयोग छ, न त कुनै बिजुली बत्तिको प्रबन्ध नै। अध्याँरो रातमा टर्चको साहरा लिएर सुत्केरी गराउनु परिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। उनीहरुले अध्याँरोमा जोखिम मोलेर सुत्केरी गराउनु परेको गुनासो पोखे।  

गाउँगाउँमा सुरक्षित सुत्केरीका लागि बर्थिङ सेन्टर खोलिएका छन्। तर आधारभूत सेवा दिनको लागि चाहिने उपकरण र पूर्वाधार छैनन्। बर्थिङ अव्यवस्थित हुँदा सुत्केरी हुन स्वास्थ्य संस्थामा महिलाहरु आउन समेत मान्दैनन्।  

जिल्लाको हिमा १ बड्की र हिमा ६ महावैपातरखोला स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा यो समस्या देखिएको छ। यी दुई स्वास्थ्य संस्था उदाहरण मात्र हुन्। जिल्ला अधिकांश स्वास्थ्य संस्थामा उज्यालोको व्यवस्था हुन सकेको छैन। बिजुली बत्तिको अभावमा टर्चको भरमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको सिनियर अनमी जयलक्ष्मी रावत बताउँछिन्। अहिले सम्म मोवाइलको टर्च बालेर 'सुत्केरी गराउने गरेका छौँ,' उनले भनिन,‘यो बिडम्वना कहिले सम्म बेहोर्नु पर्ने हो थाहा छैन।’

सुत्केरी गराउने जस्तो जटिल र संंवेदनशिल काममा भरपर्दो उज्यालो र न्यानो ठाउँको व्यवस्थापन हुनुपर्ने हो। उनले भनिन्,‘उल्टै अन्धकार रातमा टर्च बालेर सुत्केरी गराउनुपर्छ। यो निकै जोखिम काम हो।’ महिला सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा आइपुग्छन्,' उनले भनिन्,‘बर्थिङ सेन्टरमा एउटा घरमा हुने व्यवस्थापन भन्दा पनि कम व्यवस्थापन हुँदा ढुक्क हुने वातावरण छैन।’ तत्काल हरेक स्वास्थ्य संस्थामा पर्याप्त मात्रमा बिजुली बत्तीको व्यवस्थापन हुनु पर्ने स्वास्थ्यकर्मीको माग छ।  

घरमै सुत्केरी हुन असुरक्षित हुने भएकाले प्रसुति केन्द्रमा सुरक्षित सुत्केरीका लागि ल्याउछौँ। स्थानीय चल्ली तिरुवाले भनिन्,‘स्वास्थ्यसंस्थामा नै बत्ती नहुँदा टर्च बालेर सुत्केरी गराउनु परेको छ।’ चल्ली तिरुवाले मोवाइल टर्चको भरमा सुत्केरी भएर घुर फर्केको अनुभव सुनाइन्।

स्वास्थ्यचौकीमा भरपर्दो बत्ती नहुँदा स्वास्थ्यकर्मीको मोबाइलको टर्च र घरबाट ल्याएको ब्याट्री लाग्ने टर्चको भरमा धिपधिपे उज्यालोमा सुत्केरी गराउँदा घरमा भन्दा पनि स्वास्थ्य संस्थामा असुरक्षित हुने अवस्था सृजना भएको स्थानीय बताउँछन्।  

सुरक्षित सुत्केरीका लागि तत्काल उज्यालोको व्यवस्था गर्न स्थानीयले माग गरेका छन्। चिसोमा आमा र बच्चा दुवैको ज्यान जोगाएर सफल सुत्केरी गराउन विभिन्न तरिका अपनाउनु पर्ने भएकाले हिटर लगायतका उपकरण प्रयोग गर्न र उज्यालोका लागि भरपर्दो बत्ती नभएकाले मोवाइल टर्च लगायत दियालोको उज्यालोको भरमा पनि जोखिम मोलेर सुत्केरी गराउनु पर्ने बाध्यताले समस्या आएको स्वास्थ्यचौकी ईन्चार्ज टेकबहादुर बुढले बताए।  

दुई वर्ष अगाडि जोडेको सोलार एक वर्ष नपुग्दै बिग्रेपछि महावैपातरखोला स्वास्थ्य चौकी अन्तर्गतको प्रसूति केन्द्रमा समस्या आएको हाे। गुणस्तरहिन सोलार जडान गरेको स्थानीय समाजसेवी विष्णु खत्रीले बताए। एक किलोवाट क्षमताको सोलार एक्कासी बिग्रेपछि सुत्केरी गराउन ठूलो समस्या भएको बताउँदै मर्मत तथा सम्भार गर्नुपर्ने स्वास्थ्य चौकीले जनाएको छ। तर स्वास्थ्यचौकीमा बिग्रिएको सोलार सिस्टम बनाउने रकम नहुँदा समस्या भइरहेको छ।

प्रकाशित: २६ असार २०७८ ०९:३८ शनिबार

सुत्केरी बर्थिङ सेन्टर