स्वास्थ्य

खोप उपलब्ध गराउन जी–२० को पहल आवश्यक

भेनिसमा शुक्रबार सुरु हुने जी–२० समूह राष्ट्रका अर्थमन्त्रीको बैठकले सन् २०२२ को सुरुमा विश्वका प्रौढ जनसंख्यालाई खोप उपलब्ध गराउने सम्बन्धमा निर्णय लिन आवश्यक छ। विश्वव्यापी योजना बनाएर कार्यान्वयन गरेमा यो जनसंख्यालाई खोप उपलब्ध गराउन सम्भव छ । खोपको वर्तमान उत्पादन क्षमताले यो उद्देश्य पूरा हुन सक्ने देखिन्छ।

दुई दिनसम्म चल्ने जी–२० देशका अर्थमन्त्रीको बैठकले विश्वलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ठोस योजना ल्याउन आवश्यक छ। उक्त बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियन, रुस, चीन, भारतजस्ता खोप उत्पादन गर्ने प्रमुख देश सहभागी रहने भएकाले यी राष्ट्र मिलेर काम गरेमा सन् २०२२ को सुरुसम्म सम्पूर्ण विश्वलाई खोप उपलब्ध गराउन सक्छन्। तर यो उद्देश्य पूरा गर्न योजनाको अभाव देखिएको छ।

विश्वका गरिब राष्ट्रलाई खोपमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोभ्याक्स सुविधा आवश्यक खोपको जोहो गर्न असफल देखिएको छ। खोप उत्पादक राष्ट्रले आफ्नै नागरिकलाई खोप उपलब्ध गराउन जोड दिएका छन् र उनीहरूसँग प्रयोग नभएका करोडौं डोज खोप मौज्दात छन्। यसैगरी खोप निर्माता राष्ट्रले कोभ्याक्स सुविधाअन्तर्गत सस्तो दरमा खोप उपलब्ध गराउनुको सट्टा विभिन्न देशसँग गोप्य सम्झौता गरेर खोप बेचिरहेका छन्। 

यसरी खोप निर्माता देशको स्वार्थ र खोप उत्पादक कम्पनीको लोभका कारण विश्वमा सामान्य सहकारितात्मक सुशासनको पतन भएको छ । के आशंका छ भने अमेरिकाका विशेषज्ञले विश्वमा खोपको सहज पहुँचको विषयमा चीन र रुसका विज्ञसँग हालसम्म जुम बैठकसमेत गरेका छैनन्। चीनलाई अप्ठेरोमा पार्न अमेरिका ताइवानमा खोप निर्यात गर्न इच्छुक छ तर विश्वलाई खोप सहज रूपमा उपलब्ध गराउन चीनसँग सहकार्य गर्न तयार देखिँदैन।

खोपको विश्वव्यापी पहुँचमा हुने ढिलाइले समग्र विश्वमा विध्वंसात्मक प्रभाव पार्ने देखिन्छ। भाइरसका नयाँनयाँ भेरियन्टले विद्यमान खोपको प्रभावलाई निस्तेज पार्न सक्ने भएकाले चुनौती झन् थपिएको छ। यो चुनौती कतिपय स्थानमा देखिइसकेको छ। इजरायलका वैज्ञानिकले डेल्टा भेरियन्टविरुद्ध फाइजर–बायोएनटेक खोपको प्रभावकारिता ६४ प्रतिशतमात्र रहेको बताएका छन्। भाइरसको सुरुको प्रजातिववरुद्ध यो खोप ९५ प्रतिशत प्रभावकारी थियो।

सुखद समाचार के हो भने विश्वव्यापी व्यापक खोप अभियान सम्भव छ। हालको विश्वव्यापी खोप उत्पादन क्षमताले हरेक देशका प्रौढ जनसंख्यालाई केही महिनामै खोप उपलब्ध गराउन सक्ने देखिएको छ। सबै राष्ट्रबीच खोपमा साझेदारी गर्न तत्काल योजना बनाउन आवश्यक छ। यो योजना सफल पार्न आर्थिक तथा प्रशासनिक सहयोगसहित धनी र गरिब राष्ट्रबीच सहकार्य आवश्यक छ। जी–२० समूहका सदस्य राष्ट्रले गम्भीर रूपमा चाहना राख्ने हो भने यो असम्भव छैन।

तर दुर्भाग्य नै भन्नुपर्छ, हालसम्म खोप उत्पादक कम्पनी र राष्ट्रले हरेक महिना कति डोज उत्पादन गर्छन् भन्ने विषयमा व्यवस्थित, व्यापक र अद्यावधिक तथ्यांक सार्वजनिक भएको छैन। हामीले यी देश र कम्पनीले आगामी महिनामा गर्न सक्ने सम्भावित उत्पादनको आकलन गर्दा हालसम्म आपूर्ति भइसकेको र निकट भविष्यमा आपूर्तिका लागि गरिएको प्रतिबद्धताका आधारमा खोपको विश्वव्यापी पहुँचका लागि प्रारम्भिक समयसारिणी तयार गरेका छौं। तर विश्व स्वास्थ्य संगठन, कोभ्याक्स, जी–२० समूह तथा खोप उत्पादक देशले यस प्रकारको लेखाजोखा र समन्वय गर्न नसक्नु विश्वव्यापी सहयोगको ठूलो विफलता हो।

हाम्रो प्रक्षेपणले के देखाएको छ भने डब्लुएचओले आपत्कालीन प्रयोग अनुमति दिएका खोप उत्पादन गर्ने कम्पनीले हरेक महिना १ अर्ब डोज उत्पादन गर्न सक्छन्। विश्वको कुल जनसंख्या ७.८ अर्बमध्ये १५ वर्षभन्दा माथिको जनसंख्या ५.८ अर्ब छ । हामीले १५ वर्षमाथिको जनसंख्याको ८० प्रतिशतलाई खोप दिने हो भने कुल ४.६ अर्ब जनसंख्यालाई समेट्नुपर्ने हुन्छ।

जुन ३० सम्मको तथ्यांक हेर्दा विश्वका ८५ करोड जनसंख्याले खोपको दुवै मात्रा लगाएका छन्। थप ९५ करोडले एक डोज खोप लगाएका छन्। यसरी विश्वको प्रौढ जनसंख्याको ८० प्रतिशतलाई खोप उपलब्ध गराउन थप ६ अर्ब डोज आवश्यक देखिन्छ।

हाम्रो प्रारम्भिक प्रक्षेपणले हाल हरेक महिना १ अर्ब डोज आपूर्ति भएको देखिएकाले आगामी ६ महिनामा ६ अर्ब डोज उत्पादन गर्न सकिने देखिएको छ। यसरी आगामी ६ महिनामा खोपको व्यापक पहुँच स्थापना गर्न सकिने देखिन्छ। विभिन्न खोपको विशिष्ट संयोजनमा आधारमा खोपको निश्चित संख्या आकलन गर्न सकिन्छ। तर यसका लागि समयसारिणीसहित विश्वव्यापी योजना आवश्यक पर्छ, जसमा विभिन्न देशलाई आवश्यक पर्ने खोपको मात्रासहित वित्तीय सहयोग, खोप आपूर्ति तथा कार्यान्वयन योजना समावेश गरिनुपर्छ । विशेषगरी हालसम्म कुल जनसंख्याको २ प्रतिशतलाई मात्र खोप उपलब्ध गराएको अफि«की महादेशमा यो सहयोग अति आवश्यक छ । 

विश्वको प्रौढ जनसंख्याका १७ प्रतिशतले खोप प्राप्त गरिसकेको सन्दर्भमा अफ्रिकामा खोप पाउनेको संख्या अत्यन्त न्यून हो। गत जुन ३० सम्मको तथ्यांकका आधारमा कुल प्रौढ जनसंख्यामध्ये अमेरिकाले ५७ प्रतिशत, बेलायतले ५९ प्रतिशत, युरोपेली युनियनका सदस्य राष्ट्रले ४० प्रतिशत, रुसले १५ प्रतिशत, भारतले ६ प्रतिशत प्रौढलाई खोप उपलब्ध गराएका छन् । यस्तै जुन १० सम्म चीनले १९ प्रतिशत प्रौढ जनसंख्यालाई खोप दिएको छ। यति बेला संक्रामक मानिएको डेल्टा भेरियन्ट अफ्रिकामा फैलिँदो क्रममा छ। 

खोपलाई यथाशीघ्र विस्तार नगर्ने हो भने संकट झन् गहिरिनेछ। ल्यान्सेट कोभिड–१९ कमिसनको एक कार्यदलले तत्काल ३० करोड डोज खोप उपलब्ध गराउन माग गरेको छ। एकातिर खोपलाई निष्प्रभावी पार्ने नयाँ भेरियन्टको विकास हुने सम्भावना छ भने अर्काेतिर खोपका बारेमा गलत सूचना र खोपविरुद्धको अभियानका कारण कतिपयले खोप लगाउन अनिच्छा देखाएका छन्। यसो हुँदा खोप उपलब्ध हुदाँहुँदै पनि प्रौढ जनसंख्यालाई खोपले नसमेट्न सक्छ।

सारांशमा भन्ने हो भने हामी सर्वत्र असुरक्षित छौं। कोभिड–१९ ले हालसम्म ४० लाख मानिसको ज्यान लिइसकेको सन्दर्भमा विश्वले कोभिड–१९ विरुद्ध सहकार्य र समन्वयको स्पष्ट रणनीति अख्तियार गर्न आवश्यक छ। गत महिना जी–७ समूहले विश्वका साढे ४३ करोड जनसंख्यालाई पुग्ने ८७ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो, जुन विश्वव्यापी खोप योजनालाई पर्याप्त छैन। यो पृष्ठभूमिमा जी–२० समूहका राष्ट्र एकमत भएर विश्वलाई आवश्यक पर्ने खोपको जोहो गर्न ठोस पहल गर्नुपर्छ। शुक्रबार भेनिसमा सुरु हुने बैठकले विश्वको स्वास्थ्यलाई निर्धारण गर्नेछ।

(प्रोजेक्ट सिन्डिकेट)

प्रकाशित: २६ असार २०७८ ०२:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App