स्वास्थ्य

राष्ट्रपति महिला उत्थान कार्यक्रम: गर्भवती महिलाको हेलीकप्टरबाट उद्धार

बेला नपुग्दै सुत्केरी व्याथा लागेकी सरस्वती कट्वाललाई सेनाको हेलीकप्टरमार्फट काठ्माण्डौं लगिँदै। तस्बिर सौजन्य :सञ्जिव राई

खोटाङमा समय अगावै सुत्केरी व्याथा लागेकी महिलालाई हेलीकप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ। सामान्यतः ४० हप्तामा सुत्केरी व्याथा लाग्नुपर्नेमा ३२ हप्तामै सुत्केरी व्याथा लागेकी साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङकी २५ वर्षीया सरस्वती कट्वाललाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च व्यहोर्ने गरी हेलीकप्टरमार्फत उद्धार गरिएको हो। जिल्ला अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भए लगत्तै कट्वालको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरेर काठमाडाैं पठाइएको हो।  

जिल्लामा उपचार हुन नसकेको र गम्भीर स्वास्थ्य समस्या निम्तिने खतरा देखिएको भन्दै जिल्ला अस्पतालले पठाएको पत्रको आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाई, सिंहदरबार, काठमाडाैंलाई आग्रह गरेर सुत्केरी व्याथा लागेको महिलाको उद्धारका लागि हेलीकप्टर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सामान्यतः नौ महिना नपुग्दै जन्मिएका नवजात शिशुको फोक्सो परिपक्व भइसकेको नहुने र एनआइसियूमा राख्नुपर्ने हुनाले कट्वाललाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर काठमाडाैं पठाइएको जिल्ला अस्पताल खोटाङका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर बैभव मल्लिकले बताए। ‘समय अगावै जन्मिएको बच्चाको शारीरिक अवस्था परिपक्व भइसकेको हुँदैन। 

त्यस्तो बच्चा जन्माउनु ठूलो कुरो होईन, केयर गर्नु ठूलो कुरा हो,’ मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मल्लिकले भने, ‘त्यो अवस्थामा गर्भवतीलाई गाडीमा अस्पताल पठाउँदा ढिला हुनसक्छ। बिचबाटोमा बच्चा जन्मिए भने झनै ठूलो समस्या आउन सक्ने भएकाले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलीकोप्टर झिकाइएको हो।’ यसअघि पनि सरस्वतीले समय अगावै सुत्केरी व्याथा लागेर बच्चा जन्माएको बताइएको छ।  

यसअघि गर्भवती भएको आठ महिनामै सुत्केरी व्याथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई पनि असार ८ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलीकप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्‍याइएको थियो।  

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि जिल्लाका दर्जनौं सुत्केरी तथा गर्भवती महिला र नवजात शिशुको ज्यान बचिसकेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत हालसम्म जिल्लाका १० महिलाको उद्धार गरिएको जनाइएको छ। अधिक रक्तश्रावका कारण सिकिस्त भएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीकी रेनुका वन गिरीलाई २०७७ साल साउन ११ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगतको हेलीकप्टरमार्फत काठ्माण्डौं पुर्‍याइएको थियो। सछितापोखरी बर्थिङ सेन्टरमा जुम्ल्यहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तश्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि उद्धार गरिएको थियो।  

यस्तै, बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय तारा राईलाई २०७७ साल असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्धार गरिएको थियो। यस्तै, अधिक रक्तश्राव हुँदा बिरामी परेकी ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई २०७६ साल चैत १५ गते सेनाको हेलीकप्टरबाट काठमाडाैं लगिएको थियो। सो भन्दा अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी २३ वर्षीया रविता विक र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विकको पनि ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तरगत उद्धार गरिएको थियो।

प्रकाशित: २२ असार २०७८ ०५:५८ मंगलबार

राष्ट्रपति महिला उत्थान कार्यक्रम