स्वास्थ्य

कर्णाली प्रतिष्ठानको फ्याकल्टी कल्याण समितिमा सुर्यमान लिम्बु निर्वाचित

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको फ्याकल्टी कल्याण समितिमा डा. सुर्यमान लिम्बु निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा डा. अनुस्मृति पाललाई पराजित गर्दै डा. लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन्। यसअघि तदर्थ समितिको संयोजक डा. हरीहर देवकोटा थिए।

निर्वाचन समितिका संयोजक सहप्रध्यापक डा. पुजनकुमार रोकायाका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पन्त, महासचिवमा डा. कमलप्रसाद थानी, सहसचिवमा विवेक पुनमगर र सदस्यमा फार्मेसी शुष्मा काफ्ले निर्वाचित भएका हुन्।  

उनीहरुसंग क्रमशः उपाध्यक्षमा डा.कृष्णकुमार झा, महासचिवमा डा. अर्जुन तिवारी, सहसचिवमा डा. तुलाकृष्ण गुप्ता र सदस्यमा रविन्द्र रोकायाले प्रतिष्पर्धा गरेका थिए।  

निर्वाचन समितिमा संयोजक सहप्रध्यापक डा. रोकाया र सदस्य सचिवका रुपमा उप प्रध्यापक सन्ध्या चौलागाई थिए। निर्वाचन शान्तिपूर्ण, मर्यादित र अनुशासितपूर्वक सकिएको संयोजक रोकायाले जानकारी दिए।

यो समितिले चिकित्सकको हकहित, वृद्धिविकास, संस्थागत र सामाजिक हितका लागि आवाज उठाउने नवनिर्वाचित अध्यक्ष लिम्बुले बताए। उनले भने,‘चिकित्सकलाई सीप दिन पहल गर्ने, स्तरोन्नती र शैक्षिक पदोन्नतीका विषयमा पैरवी गरिनेछ। समग्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजान पहल हुनेछ।’

निर्वाचनमा भाग लिने कुल ६७ मतदाता मध्ये ६४ मत खसेको थियो। निर्वाचन समितिका संयोजक रोकायाका अनुसार सदस्यहरुमा डा. तुफानसिंह कठायत, डा. सुनन्द पौडेल, सुजाता ओझा, रामजीवन प्रसाद निर्वाचित भएका थिए।  

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ तीनवटा कार्यक्रम आएको छ। यो कार्यक्रम सफल बनाउनको लागि पनि यो समितिले पहल गर्नेछ। डा. रोकायाले भने,‘एकातिर नयाँ कार्यक्रम आउँदा खुसी हुनु परेको छ। अर्को तिर दुई जना प्रध्यापकले राजीनामा दिएर गइसकेका छन्। एक जना प्रध्यापक १२ दिनपछि जाँदैछन्। यो अवस्थाले दुखित तुल्याएको छ। यो अवस्थामा यो समितिले प्रभावकारी भूमिका खेल्नेछ।’

कल्याण समितिले अस्पताल भित्रको सुशासन, पारदर्शीता, जवाफदेहिताका विषयमा समेत आवाज उठाउने जनाइएको छ ।

प्रकाशित: २० असार २०७८ १०:०९ आइतबार

कर्णाली प्रतिष्ठान फ्याकल्टी कल्याण समिति