स्वास्थ्य

कालोढुसीका कारण चारको मृत्यु, चारको दृष्टि गुम्यो

म्युकर माइकोसिस (कालोढुसी) संक्रमण भएका दुई जनाको त्रिवि शिक्षण अस्पतालमा आँखा निकालेर उपचार गरिएको छ। उपचार गरिएका जनकपुरका ५० वर्षीया महिला र नेपालगन्जका ५८ वर्षीय पुरुष हुन्।

उनीहरूको नेत्र विशेषज्ञसहित चिकित्सक टोलीले एक साताअघि आँखा निकालेको अस्पतालले जनाएको छ। एक महिनाअघि कालोढुसीकै कारण दृष्टि गुमाएका ३१ वर्षीय युवकको वीर अस्पतालमा शल्यक्रिया गरी आँखा निकालिएको थियो। पाँच दिनअघि एक युवकको एउटा आँखा निकालेर टिचिङमा थप उपचारका लागि रेफर गरिएको थियो। युवकसहित नेपालमा चार जनाले कालोढुसीका कारण एउटा आँखाको दृष्टि गुमाइसकेका छन्।

शल्यक्रियापछि उनीहरूको स्थितिमा सुधार हुँदै गइरहेको अस्पतालका नाक–कान तथा घाँटी सर्जन डा. रविन्द्र भक्त प्राधानाङ्गले बताए। म्युकर माइक्रोसिस हातले छुँदा या वातावरणबाट सिधैं नाक या मुख हुँदै आँखा तथा मस्तिष्कमा र शरीरका अन्य भागमा फैलिने गर्छ। त्यही क्रममा आँखामा ढुसी पुगेर संक्रमण फैलिएपछि आँखाको दृष्टि नष्ट हुन्छ। ढुसीले आँखाको मुख्य नशा नष्ट गर्छ। सुरुमै उपचार पुगेमा आँखा नष्ट हुन पाउँदैन। ढुसीको संक्रमणले कतिपयको दुवै आँखाको दृष्टि नष्ट हुने सम्भावना हुन्छ।

ढुसी संक्रमणले आँखाको दृष्टि गुमेपछि दुवै पुरुषको एक/एक वटा आँखा निकालेर उपचार गरिएको हो। उनीहरूको आँखामा फैलिएको ढुसी ननिकालेको भए आँखा हुँदै मस्तिष्कमा पुगेर मृत्युसमेत हुनसक्ने भएकाले ढुसी निकालेको डा. प्राधानाङ्गले बताए। टिचिङमा मात्र म्युकर माइकोसिसका १५ जना बिरामीको उपचार भइरहेको छ। तीमध्ये एक जनाको एक महिनाअघि नै शरीरभर ढुसी फैलिएर मृत्यु भएको थियो। दुईजना उपचारपछि नै घर फिर्ता गएको अस्पतालले जनाएको छ। उनीहरू दुवैको म्युकर माइकोसिस मस्तिष्क तथा शरीरमा फैलिसकेको थियो। थप उपचार गर्न सम्भव नभएपछि आफन्तले घर फिर्ता लगेका थिए। उनीहरू दुवैको मृत्यु भइसकेको हुनसक्ने डा. प्राधानाङ्गले बताए।

नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता ढुसीका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्।

म्युकर माइकोसिस संक्रमण भएर स्टार अस्पताल भर्ना भएका एक बिरामीको एक महिनाअघि नै मृत्यु भएको तिलगंगा अस्पतालका वरिष्ठ अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले बताए। अस्पतालमा एक जनाको आँखाको दृष्टि गुमेपछि शल्यक्रिया गरी तीन साताअघि टिचिङ रेफर गरेको डा. सैजुले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ जनामा यो संक्रमण पुष्टि भएको छ।

नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता यसका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्। यीमध्ये कुनै लक्षण देखिनेबित्तिकै आँखा या नाक–कान तथा घाँटीको चिकित्सकसँग पुगेर उपचार गरे आँखा बचाउन सकिने डा. सैजु बताउँछन्। आँखा, नाक तथा मस्तिष्क जुनसुकै ठाउँमा ढुसीको संक्रमण भए पनि समयमै शल्यक्रिया गर्ने या औषधिको प्रयोग गरेमा बिरामीलाई मृत्यु हुनबाट बचाउन सकिने डा. प्रधानाङ्ग बताउँछन्। चिकित्सकका अनुसार ढुसी हाम्रो वातावरण तथा कुहिएका तरकारी फलफूलमा बस्छ। ती ठाउँ छोएको हातले नाक या मुखमा छुँदा र सिधै वातावरणबाट पनि ढुसी नाक, मुख हुँदै शरीरमा प्रवेश गर्न सक्छ।

विशेष गरी कोरोना संक्रमण भएको तीन साताभित्र यो रोग लाग्ने सम्भावना हुन्छ। क्यान्सर, मिर्गौला, अनियन्त्रित मधुमेह भएका बिरामी, अक्सिजन लिएका, स्टोरोइड औषधि प्रयोग गरेका र शरीरमा प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिमा यसको संक्रमण हुन्छ। संक्रमणबाट बच्नका लागि उल्लिखित बिरामीले आफ्नो रोगलाई नियन्त्रणमा राखेर बच्न सकिने र कुनै पनि लक्षण देखिएमा समयमै उपचार गर्न गए बच्न सकिन्छ।

प्रकाशित: १९ असार २०७८ ०३:३० शनिबार

कालोढुसी त्रिवि शिक्षण अस्पताल