ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकामा एकपछि अर्को गर्दै कोरोना संक्रमितको संख्या बढी रहेको पाइएको छ। स्वास्थ्य कार्यालय ताप्लेजुङले अद्यावधिक गरेको विवरण अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा १ सय ६९ जना कोरोना संक्रमित रहेका छन्।
यो जिल्ला भरीका स्थानीय तहमध्ये सबैभन्दा बढी हो। जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार फुङ्लिङ नगरपालिकामा ५२ जना,मेरिङेन गाउँपालिकामा ३२ जना,मैवाखोलामा ३१ जना,मिक्वाखोलामा १२ जना,पाथीभरा याङ्वरकमा १ जना,सिरिजंगामा ४४ जना,फक्ताङ्लुङमा ११ जना र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गरिएका मध्ये १ सय १० जना सक्रिय कोरोना संक्रमित रहेको खरेलले जानकारी दिइन्। यो सहित जिल्ला भरमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ६९ जना रहेको समेत उनले बताइन्। संक्रमित भएका मध्ये ८ सय २४ जना भन संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमित सबै एन्टीजेन विधिबाट परीक्षण गरेको संख्या रहेको एन्टीजेन विधिबाट कूल ३ हजार ४ सय ४१ जनाको परीक्षण गरिएको थियो।
मृत्यु संख्या १८ पुग्यो
स्वास्थ्य कार्यालयले ताप्लेजुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको जनाएको छ। स्वास्थ्य कार्यालयले संकलन गरी अद्यावधिक गरेको विवरण अनुसार ७ पुरुष र ११ महिलाको ज्यान गएको छ। विवरण अनुसार सबैभन्दा बढी फुङ्लिङ नगरपालिकामा १२ जना,मैवाखोला र फक्ताङ्लुङ गाउँपालिकामा गाउँपालिकामा २–२ जना तथा सिरिजंगा र मिक्वाखोल गाउँपालिकामा १–१ जनाको ज्यान गएको विवरण स्वास्थ्य कार्यालयले जनाएकाे छ।
पीसीआर बिधिबाट करिव साढे २१ सयको परीक्षण
कोरोना भाइरसका दोस्रो भेरिएन्ट सुरु भएयता पीसीआर बिधिबाट कूल २ हजार १ सय ६७ जनाको परीक्षण गरिएको छ। सो मध्ये ४ सय ९८ जनामा संक्रमण पुष्टि भएकोमा अहिले पीसीआर बिधिबाट परीक्षण गरिएका सबैको रिर्पोट नेगेटिभ आइ सकेको समेत स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: १६ असार २०७८ ०६:१३ बुधबार