स्वास्थ्य

संक्रमितका घरघरमा पुगेर आयुर्वेद औषधि वितरण

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले यहाँका कोरोना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधि वितरण गर्न थालेको छ। 

पछिल्लो समय फुङ्लिङ नगरपालिका वडा नं २ मा रहेका १५ जना संक्रमितलाई घर–घरमै पुगेर आयुर्वेद औषधि वितरण गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए। सो क्रममा आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले योगको फाइदा तथा आहार बिहार र पोषणयुक्त खानाका बारेमा समेत जानकारी गराएको अर्यालले बताए। 

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले यष्ठीमधु चूर्ण, अश्वागन्धा चूर्ण, गुडुची चूर्ण र शितोपलादी चूर्णसहितका आयुर्वेद औषधि वितरण गरेको थियो। कोरोना संक्रमितहरुका लागि पछिल्लो समय आयुर्वेद औषधि निकै लाभप्रद हुने बताइँदै आएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका संक्रमित तथा जिल्ला अस्पतालको कोभिड अस्पतालमा रहेका संक्रमितहरुलाई समेत आयुर्वेद औषधिहरु वितरण गरेको जनाएको छ। 

संक्रमितहरुलाई घरमै पुगेर आयुर्वेद औषधि वितरण र आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपायबारे जानकारी प्रेषण गर्ने गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङले जनाएको छ।

प्रकाशित: १५ असार २०७८ १३:४७ मंगलबार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ