स्वास्थ्य

कोरोना संक्रमण फैलिएपछि जुम्लाको राँकागाउँ सील

फाइल तस्बिर

जुम्लाको तातोपानी गाउँपालिका १ राँकागाउँमा कोरोना संक्रमित बढेपछि गाउँ नै सील गरिएको छ। पहिलो पटक २५ जनाको कोरोना परिक्षण गरेकोमा २३ जनामा कोरोना पुष्टि भएपछि १० दिनका लागि राँकागाउँ सील गरिएको हो।  गाउँमा रुघाखोकी,ज्वरो आउने र खोकी लाग्ने समस्या देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोना परिक्षण गरेको थियो।  

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमै गएर एन्टीजेन परिक्षण गर्दा एकै दिनमा २३ जना संक्रमित भेटिएपछि गाउँ नै त्रासिद छ। स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइँले भने,‘गाउँमा बिरामी धेरै छन्। एक दुइ दिन भित्र सबैको टे«सिङ र टेस्टिङ गर्ने तयारी भइरहेको छ। ’

उनले केही बिरामी परीक्षण गर्न आउन नमानेको बताए। संक्रमित सबैलाई पहिले निर्माण गरिएको क्वारेन्टिनमा आइसोलेसन बेड बनाएर राखिएको उनी बताउँछन्। आइसोलेसनमा स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानी छ। संक्रमित मध्ये दुई तीन जना दम र मुटु रोगी छन्।  

संक्रमण पुष्टि भइसकेपछि चिकित्सकले अक्सिजनको मात्रा जाँच गरेका थिए। अवस्था ठिकै थियो,उनले भने,‘अवस्था क्रिटिकल हुने वित्तिकै कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ। त्यो भन्दा पनि गम्भीर अवस्था आइपुगेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिनेछ। ’

राँका गाउँमा बाहिरकोले प्रवेश गर्न पाउनेछैनन। भित्रकोले पनि बाहिरका गाउँबस्तीमा जान पाउने छैनन्। तातोपानी गाउँपालिकाको संस्थागत आइसोलेसनमा ४७ जना संक्रमित छन्। चार जना होम आइसोलेसनमा छन्। १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।  संक्रमित मध्ये ६० प्रतिशत संक्रमितको अवस्था सामान्य छ।  संक्रमित थपिदै गर्दा आइसोलेसन बेड बढ्न सक्ने देखिएको स्वास्थ्य शाखाले जनाएको छ।  

पहिलो चरणमा माइकिङ गरेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न सचेत गरिएको थियो। उनले भने,‘त्यो कार्यले खासै प्रवभाव पार्न सकेन। सम्बन्धित वडाले सचेत नगर्दा सम्म केही हुनेवाला छैन। ’तातोपानीको कोभिड अस्पतालमा  १० वटा अक्सिजन सिलिण्डर छन। यसअघि गाउँका अधिकांस व्यक्तिमा कोरोना लक्षण सहितको बिरामी लागेपछि तातोपानी ५ को रावतवाडा सील गरिएको थियो।  गाउँपालिका भित्रका गाउँमा कोरोना लक्षणका बिरामी भेटिने वित्तिकै परिक्षण गराएर व्यवस्थापन गर्ने गरिएको संयोजक चौलागाइले बताए।

उनले भने,‘गाउँमा कोरोना तीब्र रुपमा फैलिइरहेको अवस्था छ। स्थानीय सचेत हुन जरुरी छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आवश्यक रहेको छ। ’ तातोपानी गाउँपालिकाले कोभिड लक्षित कार्य गरिरहेकोले शंका लाग्ने वित्तिकै खबर गर्न आग्रह गरेको छ। गाउँमा रोपाइ चलिरहेको छ। सरकारी विकास धमाधम भइराखेका छन्। न दुरी कायम छ,नत मास्कको प्रयोग नै,स्वास्थ्य संयोजक चौलागाइले भने,‘गाउँतिरका स्थानीको चरम लापरबाहीले कोरोना संक्रमण बढ्दो छ। ’ अब गाउँ सील गरेर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुको विकल्प हुदैन्।  

प्रकाशित: २६ जेष्ठ २०७८ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App