स्वास्थ्य

महामारीको बेला नर्सको भूमिका उच्च

कोरोना महामारी सुरु भएदेखि विभिन्न अस्पतालमा कार्यरत नर्सहरू अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्। महामारी सुरु हुनुअघि पेशागत सुरक्षा तथा तलबमा असमानतासँग जुध्दै आएका नर्सले महामारीको पहिलो र दोस्रो लहरमा झन् अत्यधिक मानसिक तनाव र चुनौतीको सामना गर्नु परेको विज्ञहरूले बताएका छन्। साइन्टिस्ट नेपालले मंगलबार आयोजना गरेको जुम छलफल कार्यक्रममा सहभागीहरूले चिकित्सा सेवाको अभिन्न अंगको रूपमा कार्यरत नर्सहरूको पेशागत सुरक्षा तथा सम्मानमा उचित ध्यान दिनुपर्नेमा जोड दिए।  

कार्यक्रममा नेपाल नर्सिङ एसोसियनका अध्यक्ष प्राध्यापक मनकुमारी राईले महामारीको समयमा नर्सले काम गर्नु समयावधि बढेको र सक्रमणको जोखिम जोखिम अत्यधिक रहेको बताइन्। सरकारले नर्सको न्यूनतम तलब २० देखि २८ हजार तोकेको भएपनि निजी अस्पतालले ५ देखि ८ हजार तलबमा काम गराइरहेको उनले बताइन्। ‘यो श्रम शोषण हो, नर्सहरूलाई उचित सुविधा तथा हौसला पनि दिनुपर्छ,’ उनले भनिन्। महामारीको पहिलो र दोस्रो लहरमा कोरोना संक्रमणबाट नर्सहरू समेत संक्रमित भएको उनको भनाइ छ। आफू संक्रमित हुँदा पनि बिरामीको उपचारमा निरन्तर नर्सहरूले काम गरिरहेको अध्यक्ष राईले बताइन्।  

जुम कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै पोखरा एकेडमी अफ हेल्थ साइन्स अस्पताल नर्सिङ प्रमुख सरिता कार्कीले कोभिड बार्ड सञ्चालनका विभिन्न चुनौती रहेको बताइन्। दोस्रो लहरमा धेरै बिरामी गम्भीर प्रकृतिले बिरामी भएकाले उनीहरूको हेरचाहमा चुनौती आएको बताइन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोभिड उपचारका लागि दिनहुँ चार सय सिलिन्डर अक्सिजन आवश्यक पर्ने र यसको व्यवस्थापन गर्न १६ जना कर्मचारी परिचालन भएको उनले बताइन्।

यसैगरी भेरी अस्पतालकी नर्सिङ अधिकृत शिला शर्माले कोरोनाको पहिलो लहरमा खासै समस्या नभएको तर दोस्रो लहरमा बिरामीको अत्यधिक भएपछि ठूलो चुनौती आएको बताइन। चैतको अन्तिमदेखि नेपालगन्जमा बिरामीको संख्या ह्वात्तै बढ्दा त्यसलाई थेग्न कोरीडरमा राखेर बिरामीको उपचार गर्न परेको उनले बताइन।

अहिले बिरामीको संख्या घटेपनि सघन उपचार गर्नुपर्ने बिरामी र मृत्यदर नघटेको शर्माले बताइन्। भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका कोरोना संक्रमितमध्ये १८.२ प्रतिशत बिरामीको मृत्यु भएको तथ्यांक छ। उनले कोभिड उपचारमा १०२ जना नर्स र २ जना नर्सिङ अधिकृत उक्त अस्पतालमा खटिएको बताइन्। जेठ १३ भेरी अस्पतालमा चिकित्साकर्मीलाई आक्रमण भएको घटनामा ड्युटीमा खटिएका ४ जना नर्स र १ जना चिकित्सकलाई आक्रमण भएको शर्माले बताइन्।

साइन्टिष्ट नेपालको कोभिड–१९ इलेक्ट्रोनिक फोरमले आफ्नो ६० औं श्रृंखला अन्तर्गत ‘कोभिड –१९ महामारीमा नेपाली नाइटिंगेलहरू’ विषयक कार्यक्रम आयोजना गरेको हो। ‘साइन्टिस्ट नेपाल’ नेपालका विज्ञान तथा प्रविधि क्षेत्रका विभिन्न विज्ञ तथा वैज्ञानिकहरू मिलेर गठन गरेको फोरम हो। आइतबारको छलफल गण्डकी प्रदेशमा रहेको साइन्टिस्ट पोखराले संयोजन गरेको हो। नेपालमा कुल ९७ हजार नर्स नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका छन्।

प्रकाशित: १९ जेष्ठ २०७८ ०२:०४ बुधबार

महामारीको बेला नर्सको भूमिका उच्च