स्वास्थ्य

नेपालमा संक्रमण दर ३४ प्रतिशत

गत चौबिस घण्टामा नेपालमा कोरोना संक्रमण दर ३४.२ प्रतिशत रहेको छ। यो संख्या शनिबारको दाँजोमा ४ प्रतिशत बढी हो। गत चौविस घण्टामा परीक्षण भएका १२ हजार ७ सय ७० वटा नमूनामध्येमा ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको हो। संक्रमणको दर बढि रहेको आकलन भइरहेका बेला सरकारले पछिल्ला दिनमा परीक्षण भने दिनदिनै घटाउँदै लगेकाे छ। संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ५ लाख ५७ हजार १ सय २४ जना पुगेका छन्। तीमध्येमा ३ लाख ५१ हजार १ सय १ जना दोस्रो लहरयता मात्र संक्रमित भएका हुन्।

गत चौबिस घण्टामा नेपालमा कोरोनाबाट थप १ सय ९ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या ७ हजार २ सय ७२ जना पुगेका छन्। तीमध्येमा दोस्रो लहरदेखियता दुई महिनाको अवधिमा ४ हजार २ सय ४० मृत्यु भएको छ। नेपालमा हालको मृत्युदर १.३१ प्रतिशत छ। हालसम्म मृत्यु भएका मध्येमा सवै भन्दा बढी ६० वर्षमाथिका ३ हजार ९ सय ८ जना, ५० देखि ५० बर्ष उमेर समूहका १३ सय १६ जना, ४० देखि ४९ वर्षभित्रका १ हजार ६३ जनाको मृत्यु भएको छ। नेपालमा हाल देशभरिमा १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित छन्। तीमध्येमा १ लाख १ हजार ३ सय ३४ जनाको होम आइसोलेसन र ७ हजार ५ सय ६३ जनाको संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। तीमध्ये १५ सय ४५ जनाको आइसियुमा र ४ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।  

गत चौबिस घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जनामा कोरोना पुष्टि भएको छ। वैशाख पहिलो साताको तुलनामा नेपालमा उपत्यकामा संक्रमण दर कम हुँदै गएको तथ्याकंले देखाएको छ। तर अन्य प्रदेशमा संक्रमणदर बढ्ने क्रम रहेको, पछिल्लो समयमा परीक्षण गर्न जाने क्रम घटेको र कतिपय जिल्लाबाट एन्टिजेनको रिपोर्ट समयमै सिस्टममा नआउँदा हालको तथ्याकंलाई आधार मानेर घटेको भनिहाल्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। आइतबार नै इपिडिमियोलोजिष्ट डा. विराज कर्मचार्यले अहिले पनि संक्रमण दर ३५ को वरपर रहेकोले समुदायमा संक्रमित धेरै छन् भन्ने बुझनुपर्ने बताए। नियन्त्रणका लागि ५ प्रतिशतभन्दा कम संक्रमण दर हुनुपर्छ।  

कोरोना संक्रमणको कारण अन्नपूर्णपोेस्ट दैनिकमा कार्यरत दोलखाका रिपोर्टर पत्रकार रवीन्द्र गौतमको आइतबार निधन भएको छ। ३८ वर्षीय गौतमको काठमाडौको नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो। नेपाल पत्रकार महासंघ दोलखा शाखाका अनुसार १२ दिनअघि उनले जिल्ला अस्पतालमा परीक्षण गरिएको थियो। परिक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर भिमेश्वर नगरपालिका फर्केका थिए। 

प्रकाशित: १७ जेष्ठ २०७८ ०२:११ सोमबार

नेपालमा संक्रमण दर ३४ प्रतिशत