स्वास्थ्य

उपचाररत संक्रमितलाई निःशुल्क खाजा

रौतहटको गौर अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई निःशुल्क खाजा उपलब्ध गराउन सुरु गरिएको छ।

सदरमुकाम गौरमा सञ्चालित नमस्ते फेमिली रेस्टुरेन्ट एन्ड बारले जिल्ला अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीलाई दिउँसोको खाजा निःशुल्क उपलब्ध गराउन थालेको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र रौतहटको समन्वयमा बिरामीलाई निःशुल्क खाजा उपलब्ध गराउने कार्य सुरु गरिएको हो।

पहिलो दिनको खाजामा दुईवटा अण्डा, एउटा स्याउ, पनिरको पकौडा तथा काजु, किसमिसजस्ता ड्राइफ्रुट उपलब्ध गराएको छ। बिरामीप्रति आफ्नो सामाजिक उत्तरदायित्व ठानी पौष्टिक खाजा निःशुल्क उपलब्ध गराएको रेस्टुरेन्टले जनाएको छ।

अस्पतालका सम्पूर्ण कोरोना संक्रमित बिरामीलाई एक महिनासम्म निःशुल्क पौष्टिक खाजा उपलब्ध गराउने रेस्टुरेन्टको भनाइ छ।

प्रकाशित: १५ जेष्ठ २०७८ १२:३१ शनिबार

कोरोना संक्रमित अस्पताल