स्वास्थ्य

भेरी अस्पतालको घटनाको छानबिन गर्न माग

नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति जुम्लाले राप्ती भेरी प्रादेशिक अस्पताल नेपालगंजमा बिरामीको कुरुवाद्वारा स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि गरिएको सांघातिक आक्रमण प्रति ध्यानाकर्षण भएको जनाएको छ । 

जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण गरेका थिए । ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सकमाथिको आक्रमण निन्दनीय भएको जनाएको हो । एक प्रेस विज्ञप्ति निकाल्दै चिकित्सक संघ जुम्लाले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई हदैसम्मको कार्बाही गर्न जोडदार माग गरेको छ ।  

विज्ञप्तिमा भनिएको छ,‘संसार भरि फैलिएको कोभिड महामारी बीचमा जनताको स्वास्थ्यको रक्षाका लागि सीमित जनशक्तिका बाबजुद आफ्नो स्वास्थ्यको परवाह नगरी २४ घण्टा खटिएर सेवा दिँदै गरेको अवस्थामा बिरामीको कुरुवाद्वारा गरिएको सांघातिक आक्रमण निन्दनीय छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई हदैसम्मको करबाहीका लागि हामी जोडदार माग गर्दछौ।’

विभिन्न समयमा स्वास्थ्यकर्मीको मनोबल घटाउने गरि हुने यस किसिमका घटनाहरू नियन्त्रणका लागि अपराधीलाई ‘जेल विथआउट बेल’ को कानून कार्यान्वयन लागु गर्न माग गरिएको छ ।

प्रकाशित: १४ जेष्ठ २०७८ १२:४३ शुक्रबार

भेरी अस्पताल घटनाको छानबिन