स्वास्थ्य

रसुवागढी नाकाबाट शनिबारदेखि अक्सिजन सिलिन्डर आयात हुने

शनिबारदेखि  रसुवागढी नाकाबाट अक्सिजन सिलिन्डरको आयात हुने भएको छ। चीन सरकारले अनुदानमा दिएका सिलिन्डरमध्ये नाकाबाट १ हजार ५ सयवटा सिलिन्डर आयात हुने छ।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार यही जेठ ७ गते बेइजिङबाट हिँडेका थिए। ‘१५ सय वटा सिलिन्डर बोकेका तीनवटा चिनियाँ गाडी जेठ ७ गते हिँडेको भन्ने जानकारी आएको छ’, उनले भने, ‘सम्भवत शनिबारदेखि आउन सुरु गर्छ।’  

अरु केही व्यापारीले मगाएका स्वास्थ्य सामग्री र चिनियाँ सहयोगका सामग्रीसमेत आउने क्रममा रहेको उनको भनाइ छ। गएको १५ महिनादेखि अन्य सामग्रीसमेत चिनियाँ गाडीले नै ल्याउने गरेका छन्। केही साता अघिदेखि दैनिक ८ वटा चिनियाँ गाडीले सामग्रीहरू आयात गरिरहेका छन्।  

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुढा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०९:५९ शुक्रबार

अक्सिजन सिलिन्डर दिने रसुवागढी नाका