स्वास्थ्य

तामिलनाडुमा गरियो ‘कोरोना देवी’ पूजा

भारतको दक्षिणी राज्य तामिलनाडुको कोयम्बटोरमा ‘कोरोना देवी’का दुईवटा मूर्ति स्थापना गरी पूजा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि महामारी रोक्न मूर्ति स्थापना गरी पुजारीले दैनिक पूजा गर्न थालेको समाचार संस्था अलजजिराले जनाएको छ।

भारतमा कोरोना भाइरसका कारण बिहीबारसम्म ३ लाख १५ हजारको ज्यान गइसकेको छ भने २ करोड ७३ लाख संक्रमित बनेका छन्। तामिलनाडुको कोयम्बटोरमा रहेको कामतचिपुरी अधिनाम मन्दिर महामारीका कारण बन्द गरिएको छ। तर सो मन्दिरका पुजारीले एउटा चन्दनको काठबाट र अर्काे ढुंगाबाट बनाइएका ‘कोरोना देवी’ का मूर्तिलाई पूजा गरिरहेका छन्। उनीहरूले विभिन्न मन्त्र उच्चारणसहित ती मूर्तिमा दैनिक प्रसाद चढाउने र मूर्तिलाई बेसार पानी र दूधले नुहाइदिने पनि गरेका छन्।

‘हामीले यसअघि बिफर, प्लेग र ठेउलाको महामारीका बेला पनि यस्ता मूर्ति बनाएर पूजा गरेका थियौं,’ मन्दिरका प्रबन्धक आनन्दभारती केले भनेका छन्, ‘हामीले भारइरसलाई देवीको रूपमा मानेका छौं र रोगको प्रभाव घटाउनका लागि हरेक दिन पूजा गरिरहेका छौं।’ हालको कठिन अवस्थालाई चिकित्सकले समेत सम्हाल्न नसकेकाले भगवान्को प्रार्थना अन्तिम अस्त्र रहेको उनले बताए। आगामी ७ हप्तासम्म कोरोना देवीको पूजा गर्ने तयारी गरेको अलजजिराले जनाएको छ।

प्रकाशित: १४ जेष्ठ २०७८ ०३:०७ शुक्रबार

तामिलनाडुमा गरियो ‘कोरोना देवी’ पूजा