स्वास्थ्य

गोरखामा आइतबारदेखि काेराेना खोपकाे दोस्रो मात्रा लगाइने

कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई स्वास्थ्य कार्यालय गोरखाले आगामी आइतबारदेखि लगाउने भएको छ । जिल्ला खोप समन्वय समितिको बुधवार बसेको बैठकले अभियानको पहिलो चरणमा पहिलो लगाएर दोस्रो मात्रा छुटेकालाई खोप लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  

जेठ १६ र १७ गते गोरखा नगरपालिका भित्र कर्बडहलमा, जेठ १७ गते पालुङटार र अजिरकोट गाउँपालिका भित्रका सहित सिरानचोक गाउँपालिकाको थालाजुङ स्वास्थ्य चौकीमा खोप लगाउने तालिका कार्यालयले सार्वजनिक गरेको हो । १६ गते नै गण्डकी र शहीदलखन गाउँपालिकाको घैरुङ स्वास्थ्य चौकीमा, १८ गते बारपाक सुलिकोट, आरुघाट र भीमसेन थापा गाउँपालिकाको खान्चोक स्वास्थ्य चौकीमा खोप लगाउने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।  

यी सबै पालिकामा गरी सातसय डोज कोभिसिल्ड खोप आवश्यक पर्नेछ । यसअघि जिल्ला बाहिर पहिलो डोज लगाएर निषेधाज्ञाका कारण दोस्रो डोज लगाउन नपाएकालाई पनि जिल्ला भित्रै खोप दिईने कोल्डचेन निरीक्षक खत्रीले बताए । कार्यालयले भेरोसिल खोपको दोस्रो मात्रा लगाउन छुटेकालाई पनि दिने तयारी गरेको छ । यस अघि गोरखामा भेरोसिल खोप लगाइएको छैन । अन्यत्र जिल्लामा लगाएका र निषेधाज्ञाका कारण खोप लगाउनबाट बञ्चित भएकालाई भेरोसिलको खोप दिईने केन्द्रमा नै दिईनेछ । खोप लगाउन आउनेहरुले पहिलो मात्रा लगाएको खोपकार्ड भने अनिवार्य ल्याउनुपर्ने कोल्डचेन निरीक्षक खत्रीले बताए ।  

भेरोसिल खोप दुईसय ३५ जना र कोभिसिल्ड सातसय जनालाई लगाउने लक्ष्य कार्यालयको छ । खोप कार्यक्रम सञ्चालन गर्न पाँचजना खोप कार्यकर्ता र १२ जना स्वयुेंवक खटिनेछन् । गोरखामा २३ हजार तीनसय जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । यी मध्ये तीनहजार चार सय ७६ जनाले दुबै मात्रा पुरा गरे भने १९ हजार आठ सय २७ जनाले अझै दोस्रो मात्रा लगाउन बाँकी छ । अभियानको दोस्रो चरणमा पहिलो डोज लगाएकाले थप मात्रा कहिले लगाउने भन्ने यकिन छैन । 

प्रकाशित: १३ जेष्ठ २०७८ ०९:३९ बिहीबार

गोरखा कोभिसिल्ड खोप