स्वास्थ्य

बारपाकमा गएराती तीन जनाको मृत्यु, दुई सातामा मृत्यु हुनेको संख्या १२ पुग्यो

गोरखाको बारपाकमा गएराती तीन जनाको मृत्यु भएको छ। एक महिला र दुई पुरुषको मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख मोदराज भट्टले बताए। मृतक सबै ७५ वर्ष उमेर नाघेका छन्। यस्तै बुधवार एक जनाको उपचारकालागि भरतपुर लैजाँदै गर्दा र दुई जनाको गाउँमै मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए।  

बारपाकमा दुई साता यता मृत्यु हुनेको संख्या १२ पुगेको छ । यी मध्ये पाँच जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो भने अन्यले परीक्षण गराएका थिएनन्। स्थानीयका अनुसार मृतक सबैमा रुघाखोकी, ज्वरो आएको र कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएको थियो।

एघार सय भन्दाबढि घरधुरी रहेको बारपाकमा बाक्लो बस्ती छ। कोरोनाको संक्रमण गाउँमा ब्यापक फैलिएको भएपनि परीक्षण भने भएको छैन। पिसिआर परीक्षण गर्दा रिपोर्ट ढिला आउने भएपछि गाउँपालिकाले ऐन्टिजेनलाई प्राथमिकता दिएको स्वास्थ्य शाखा प्रमुख भट्टले बताए। ‘दुई तीन सय जनाको ऐन्टिजेन गर्न जेठ ९ गते गएका थियौँ, तर धेरैले गर्न मानेनन्।’ उनले भने। पिसिआर र ऐन्टिजेनबाट अहिले सम्म ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ।  

कोरोना परीक्षण गर्न पैसा तिर्नुपर्ने, संक्रमण भएमा घर, गाउँबाट अन्यत्र लैजाने डरले स्थानीयले परीक्षण नगराएको हुन सक्ने स्वास्थ्य शाखाका प्रमुख भट्ट बताउँछन्। गाउँपालिकाले जनप्रतिनिधि, स्थानीय क्लव, समुहलाई परिचालन गरेर सचेतनाका कार्यक्रम संचालन गर्ने तयारी गरेको जनाएको छ। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०५:४५ बिहीबार

बारपाकमा गएराती तीन जनाको मृत्यु