स्वास्थ्य

थप १० लाख डोज खोप दिँदै चीन

मित्र राष्ट्र चीनले नेपाललाई थप १० लाख डोज खोप दिने भएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई थप खोप दिने निर्णय गरेको नेपालका लागि चिनियाँ दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो।  

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमा लेखेकी छन्, ‘नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपतिबीच आजको टेलिफोन वार्तापछि चीनले १० लाख खोप अनुदानमा दिनेछ।’ राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच करिब एक घण्टा टेलिफोन वार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका हुन्। 

चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराइसकेको छ। टेलिफोन कुराकानीमा राष्ट्रपति भण्डारीले नेपालमा फैलिरहेको कोरोना महामारीविरुद्धको लडाइँमा चीनले पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन्। कुराकानीकै क्रममा भण्डारीले नेपालले चीनबाट खोप खरिद गर्न चाहेको बताएपछि चिनियाँ राष्ट्रपतिले थप १० लाख खोप दिने घोषणा गरेका हुन्। उनले नेपालले सामना गरिरहेको कोरोना महामारीसँग लड्न सहयोग र समन्वय निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले चीन, अमेरिका, रुस र भारतबाट थप खोप छिटो आउने सम्भावना रहेको जनाएका छन्। ‘यी चार देशबाट छिटो खोप आउने सम्भावना देखिएको छ, खोप आउँछ’, उनले बुधबार साँझ नागरिकसित भने, ‘हामीले उच्च स्तरमा सबै देशसँग अनुरोध गरिरहेका छौं, केही देशले दिने सम्भावना छ।’ भारतबाट सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप खरिद गर्न नेपालले २० लाख डोजको रकम भुक्तानी गरिसकेको भए पनि १० लाख डोज मात्रै आइपुगेको छ, बाँकी रोकिएको छ। त्यसअघि भारतले १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो।  

कोभ्याक्सले जोखिम समूहमा रहेका २० प्रतिशत नागरिकलाई खोप उपलब्ध गराउने भने पनि अहिलेसम्म ४ लाख ५० हजार डोजमात्रै उपलब्ध गराएको छ। कोभ्याक्सले पनि सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। भारतीय अदालतले देशका नागरिकलाई खोप पूरा नगरी निर्यात गर्न नपाइने आदेश दिएपछि नेपालले खरिद गरेर ल्याउने १० लाख डोज खोप र कोभ्याक्सले दिने खोप रोकिएको हो।  

काेभ्याक्सले एक साताअघि कोभिसिल्ड खोपको विकल्प खोज्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरिसकेको छ। विश्व बजारमा खोपको मागअनुसार उत्पादन हुन नसकेकाले नेपालले जोखिम समूहका लागि खोप किन्न नसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज खोप कसरी दिने भन्ने पनि अन्योल छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार पहिलो डोज लगाएका समूहका लागि भारतले थप डोज दिन नसकेपछि यसअघि नै भारतबाट अमेरिका लगिएको खोप नेपाल ल्याउने प्रयास भइरहेको छ। ‘त्यो खोप अमेरिकाले दिने सम्भावना छ। त्यो खोप आयो भने दोस्रो डोज मिल्नेछ’, मन्त्रालय स्रोतले भन्यो।  

स्रोतका अनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सन र चीनबाट छिटो खोप खरिद हुने सम्भावना देखिएको छ। अक्सफोर्ड तथा अस्ट्राजेनेकाले विकास गरेको खोप बेलायत, भारत, रुस र अस्ट्रेलियामा उत्पादन भए पनि पर्याप्त नहुँदा अरु देशलाई बिक्री गर्ने स्थिति देखिएको छैन। नेपालले खोप उत्पादन गरिरहेका देशहरूसँग ५० लाख डोजका दरले खोप खरिद गर्ने प्रस्ताव पठाएको छ।  

संक्रमण दर १२ प्रतिशत घट्यो  

नेपालमा कोरोना संक्रमण दर तीन साताअघिको तुलनामा १२ प्रतिशतले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीन साताअघि ४६ प्रतिशत रहेको संक्रमण दर बुधबार ३६ प्रतिशत छ। संक्रमण दर काठमाडौं उपत्यका, प्रदेश ५ र गण्डकी प्रदेशमा घट्दै गएको तथ्यांकले औंल्याएको छ।  

गत २४ घण्टामा परीक्षण भएका १९ हजार ५ सय ५२ नमुनामध्ये ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। दोस्रो लहर यता मात्र नेपालमा २ लाख ८२ हजार ७ सय ५५ जना संक्रमित भएका छन्। गत २४ घण्टामा थप १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ। दोस्रो लहर सुरु भएयता मात्र ३ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ।  

कुल संक्रमित मध्ये १ लाख १७ हजार ७७ जना सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ८ हजार ६ सय २० जना होम आइसोलेसनमा छन् भने ८ हजार ४ सय ५७ जना संस्थागत आइसोलेसनमा छन्। १६ सय ७१ जनाको आइसियुमा र ४ सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले अक्सिजन सिलिन्डर होम आइसोलेसनमा रहेका संक्रमितका लागि लगेर अस्पताल तथा कम्पनीमा फिर्ता नपठाएका कारण अहिले पनि अभाव भइरहेको जनाउँदै सिलिन्डर फिर्ता दिन अनुरोध गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०७८ ०१:४९ बिहीबार

थप १० लाख डोज खोप दिँदै चीन