स्वास्थ्य

स्वास्थ्य कर्यालयमै थन्कियो कोरोना खोप

स्वास्थ्य कार्यालय गोरखा।

स्वास्थ्य कार्यालय गोरखामा छ सय ८० जनालाई लगाउन पुग्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा छ। खोप सुरु भएको पहिलो अभियानमा दोस्रो मात्रा लगाउन छुटेकाहरुको संख्या पाँच सय ४८ छ। तर जिल्ला खोप समन्वय समितिले मौजाद रहेको खोप नलगाउँदा लामो समयदेखि कार्यालयमै थन्किएको छ।  

गोरखामा २३ हजार तीन सय तीन जनाले कोभिशिल्डको पहिलो मात्रा लगाए। दुबै मात्रा पुरा गर्नेको संख्या तीन हजार चार सय ७६ छ। एउटा डोज खोप मात्र लगाउनेको संख्या १९ हजार आठ सय २७ रहेको स्वास्थ्य कार्याल्य गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए। पहिलो चरणको अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमशेविका, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारी, सरसफाईकर्मी, एम्बुलेन्स चालक, कैदिबन्दीलाई खोप दिइएको थियो। त्यसपछिको चरणमा खोप लगाएकाले दोस्रो डोज कहिले पाउने भन्ने यकिन नभएको उनले बताए।  

‘जिल्ला खोप समन्वय समितिको बैठक बसेर हामी एक हप्ता भित्र कार्यालयमा रहेको खोप पहिलो अभियानमा एउटा मात्रा लगाएर छुटेकालाई दिने तयारीमा छौँ कोल्डचेन निरीक्षक खत्रीले भने। स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखा अन्र्तगतको खोप शाखाले पहिलो चरणमा पहिलो मात्रा लगाएर दोस्रो लगाउन छुटेकाको बिवरण माग गरेको छ। उक्त बिवरण पठाइसकिएको र छुटेकालाई लगाउन दोस्रो डोज जिल्लाका लागि आवश्यक नरहेको उनले बताए। दोस्रो अभियानमा पहिलो डोज लगाएकालाई दोस्रो मात्रा कहिले दिने भन्ने कुनै जानकारी नआएको कार्यालयले जनाएको छ।  

गोरखाका लागि दुई हजार चार सय दुई भाईल अर्थात २४ हजार २० जनालाई पुग्ने कोभिशिल्ड खोप आएको थियो। अहिले स्वास्थ्य कार्यालयले भेरोसेल खोप पनि माग गरेको छ। पहिलो डोज भेरोसेल लगाएका र अहिले निषेधाज्ञाका कारण गोरखा भित्रै रहेका, अन्यत्र जान नसक्नेहरुका लागि खोप माग गरिएको स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए। यो खोप लगाउनेको संख्या दुई सय पाँच रहेको कार्यालयसँग तथ्याङ्क छ।

‘हामीले पालिकाको स्वास्थ्य शाखाबाट तथ्याङ्क लिएका छौँ’ उनले भने ‘सोही अनुसार माग गरिएको छ, पहिलो चरणमा पहिलो मात्रा अन्यत्र खोप लगाएकालाई पनि कार्ड हेरेर दोस्रो डोजको भेरोसेल खोप दिने योजना छ।’ दुई सय ३५ डोजको दोस्रो मात्रा भेरासेल मगाइएको छ। परिवार कल्याण माहाशाखालाई पटक–पटक बाँकी भएको खोप छुटेकाहरुलाई लगाउन अनुरोध गरेपनि निर्देशन ढिला गरी आएकाले अहिले तीव्र तयारी भईरहेको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए।  

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले तत्काल खोप लगाउने गरी तयारी भईरहेको बताए। ‘मैले तत्काल गर्न भनेको छु, स्वास्थ्य कार्यालयले तयारी गर्दै हुनुहुन्छ।’ अन्यत्र जिल्लामा कोभिशिल्ड खोपको पहिलो मात्र पहिलो अभियानका क्रममा लगाएको र निषेधाज्ञाका कारण दोस्रो मात्रा लगाउन नपाएकाले पनि जिल्लामै खोप पाउनेछन्। दोस्रो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो मात्रा कहिले दिने भन्ने कुनै यकिन छैन। खोप नै लगाउन नपाएका सर्वसाधारणलाई पनि खोप आउने यकिन छैन।

प्रकाशित: ११ जेष्ठ २०७८ १५:१५ मंगलबार

स्वास्थ्य कर्यालय कोरोना खोप