स्वास्थ्य

इलाममा अक्सिजन प्लान्ट राख्न जुट्यो बजेट

इलाम अस्पताल । तस्बिर : भीम/नागरिक

इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँको सहमति सोमबार दिएको हो।  

इलामसहित विभिन्न स्थानमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्यले आइतबार अर्थलाई बजेट सुनिश्चितताको पत्र लेखेको थियो। त्यसको भोलिपल्टै अर्थले देशका ११ अस्पतालमा प्लान्ट जडानका लागि ८ करोड १० लाख रुपैयाँको सहमति दिएको पत्रमा उल्लेख छ।    

कोरोना संक्रमणको दर बढेपछि जिल्लावासीले अस्पतालको उपकरण र जनशक्ति व्यवस्थापनका लागि चौतर्फी दबाब दिइरहेका छन्। उनीहरूले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले पनि अस्पतालको सेवा–सुविधा बढाउन भूमिका निर्वाह गर्न नसकेको भन्दै गुनासो गरेका छन्। तर, ढिलै भएपनि जिल्लामै अक्सिजन प्लान्ट जडान हुने आशामा जिल्लावासी हर्षित देखिएका छन्। खरिदको सरकारी प्रक्रिया पुर्‍याउँदा पुर्‍याउँदै धेरै समय बित्ने भएकाले कोभिडका बिरामीले अक्सिजन प्लान्टको सुविधा नपाउने हुन् कि भन्ने चाहिँ सेवाग्राहीको आशंका छ। ‘अक्सिजन प्लान्ट आउने त भो तर कहिले भन्ने चाहिँ निश्चित भएन,’ माइजोगमाई गाउँपालिकाका सुदन अधिकारीले भने, ‘यो बेला सरकारी प्रक्रियालाई छिटो–छरितो बनाएर सेवा पाउने अवस्था सिर्जना भएन भने आएको सुविधा पनि प्रयोग हुन सक्दैन।’

अक्सिजन प्लान्ट निर्माण हुनु सबै इलामेका लागि खुसीको काम भएको इलाम नगरपालिका वडा ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठले बताए। ‘महामारीबाट नागरिक बचाउन इलाममा अक्सिजन प्लान्ट अत्यावश्यक थियो,’ उनले भने, ‘त्यही आवश्यकता पूर्ति गर्न इलाम नगरपालिकाले यहाँका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङमार्फत् अक्सिजन प्लान्टका लागि संघीय सरकारमा विशेष पहल गरेको थियो।’ इलामबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि गत ६ गते स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर इलाममा अक्सिजन प्लान्ट जडानका लागि आग्रह गरेका थिए।  

यहाँ अक्सिजन प्लान्ट स्थापना भएपछि इलामसहित पाँचथर, ताप्लेजुङ र तेह«थुमसम्मका सयौं बिरामीले सेवा पाउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु शाहले बताए। ‘इलाममा अक्सिजन प्लान्ट राख्नु आवश्यक छ, बजेट पनि निश्चित भएको छ। तर, त्यसको खरिदप्रक्रिया अलि लामो भएकाले केही समय चाहिँ लाग्नसक्छ,’ डा. शाहले भने, ‘भरसक छिटो सञ्चालन गर्न सकियो भने कोभिडका बिरामीलाई सेवा दिन सकिन्छ।’

प्रकाशित: १० जेष्ठ २०७८ ०९:११ सोमबार

इलाम अक्सिजन प्लान्ट