स्वास्थ्य

वीपीका स्टाफ नर्सहरूको गुनासोः गत वर्षकै जोखिम भत्ता पाएनौं

वीपी प्रतिष्ठानका पदाधिकारीहरूलाई आइतबार ध्यानाकर्षण पत्र बुझाउन भेला भएका स्टाफ नर्सहरू । तस्बिर : रोहित राई

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा गत वर्ष उपचारमा खटिएका स्टाफ नर्सहरूले जोखिम भत्ता अहिलेसम्म नपाएको भन्दै पदाधिकारीहरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

पटकपटक माग राखे पनि सुनुवाइ नभएको भन्दै उनीहरूले आइतबार प्रतिष्ठानका चारै जना पदाधिकारी र मेट्रोनलाई पनि विभिन्न ७ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका छन्। प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, अस्पताल निर्देशक, रेक्टर र मेट्रोनलाई बुझाएको ध्यानाकर्षण  

पत्रमा गत वर्षको कोभिड जोखिम भत्ता जेठ महिनाभित्रै उपलब्ध गराउन माग गरेका छन्। साथै उनीहरूले कोभिड अस्पतालको लागि नियुक्त गरेका कर्मचारीहरूलाई कोभिड वार्डमा खटाइसकेपछि मात्र वार्डका पुराना कर्मचारीहरूलाई खटाउन पनि माग गरेका छन्।  

स्टाफ नर्स पदमकुमारी राईका अनुसार गत वर्ष कोभिड भत्ता ४० प्रतिशतसम्म दिएको भनिए पनि कतिपयले थोरै मात्र रकम पाएका छन् भने कतिपयले अझै पनि भत्ता पाएका छैनन्। गत वर्षकै कोभिड भत्ता नपाएको अवस्थामा फेरि कोभिड अस्पतालमा डिउटीमा खटाउन थालेको भन्दै उनले असन्तुिष्ट जनाए। ‘हामीले काम नगर्ने भनेको होइन, तर जोखिम मोलेर खटिएपछि पाउनुपर्ने सुविधा किन अहिलेसम्म नदिएको हो ? सबैलाई एकरूपता हुनुपर्नेमा कसैले थोरै पाए, मैले त अहिलेसम्म पाएकै छैन,’ उनले भनिन्।

यस्तै स्टाफ नर्सहरूले अहिले कोभिड अस्पतालमा खटिएकाहरूलाई पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्नुपर्ने पनि माग गरेका छन्। सङ्क्रमितहरूको उपचारमा खटिएकाहरूलाई अलग्गै क्वारेन्टिनमा राख्ने व्यवस्था नगर्दा घरपरिवारका सदस्यहरू पनि सङ्क्रमित हुने उच्च जोखिम भएको भन्दै उनीहरू असन्तुष्ट छन्। ‘सङ्क्रमितहरूको उपचारमा खटिएहरूका घरमै जानुपर्ने स्थिति छ, बालबच्चा र बूढा आमाबुबा हुन्छन्, हामीले गर्दा परिवार नै जोखिममा भयो,’ उनले भनिन्,‘कम्तीमा कोभिडमा खटिएकाहरूलाई क्वारेन्टिन र खानाको व्यवस्था हुनुपर्छ।’

यस्तै पिपिई सेट अनिवार्य उपलब्ध गराउन, कोभिड स्वास्थ्य विमा, औषधि उपचार लगायतको पनि व्यवस्था गर्नुपर्ने माग गरेका छन् भने गत वर्ष वृद्धि भएको तलब यही जेठ महिनाभित्र एकमुस्ट उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन्। यसैगरी, अस्पतालले दिँदै आएको बिदाको सुविधा कटौती नगर्न, हुने अवस्था भएमा विदाको रकम तलब बमोजिम उपलब्ध गराउनुपर्ने पनि स्टाफ नर्सहरूको माग छ।

प्रतिष्ठानका अस्पताल सहायक अस्पताल निर्देशक डा।प्रमोद बरालले सरकारले जोखिमभत्ता सरकारबाट नै पाई नसकेको कारण वितरणमा समस्या भएको बताए। उनले मन्त्रालयलाई करिब डेढ महिनाअघि नै प्रतिष्ठानलाई आवश्यक पर्ने जोखिम भत्ता एकमुस्ट रूपमा माग गरिएको पनि बताए । ‘सरकारले दिन्छौं भनेको हो, जे जति आएको थियो, त्यो विरतण गरिसक्यौं । अब हामीलाई चाहिने एकमुस्ट मन्त्रालयमा मागेका छौं, त्यो आएपछि मात्र दिनसक्छौं,’डा.बरालले भने,‘अहिले क्वारेन्टिन सरकारको नीतिमा छैनर कतै पनि अभ्यास नभएकाले व्यवस्था गर्न यसपालि कठिन छ ।’

 भ्याक्सिन लगाएकाले सङ्क्रमण हुने जोखिम कम हुने र भए पनि सिरियस नहुने उनले बताए। साथै, उनले क्वार्टर दिन नसकेका स्वास्थ्यकर्मीहरूलाई मात्रे क्वारेन्टिनमा राख्ने पनि बताए । ‘कोभिडमा थुप्रैले काम गरिरहनुभएको छ, र उहाँहरू कोठामा नै जानुहुन्छ। समस्या भइरहेको छैन, यो कुरा बुझाउने प्रयास गरिरहेका छौं,’डा. बरालले भने ।

प्रकाशित: ९ जेष्ठ २०७८ १४:३८ आइतबार

स्टाफ नर्स गुनासो वीपी प्रतिष्ठान