स्वास्थ्य

आँखा रोग बिशेषज्ञ डाक्टर रुइटले जुटाए शव वाहनका लागि रकम

ताप्लेजुङमा पहिलो पटक शव वाहनको व्यवस्थापन हुने भएको छ। अहिलेसम्म शव वाहनविहीन जिल्ला रहेको ताप्लेजुङका लागि फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलामा जन्मिएर आँखा रोगको क्षेत्रका विश्वमै विज्ञ कहलिएका तिलगंगा आँखा अस्पतालका प्रबन्धक समेत रहेका डाक्टर सन्दुक रुइटले शव वाहन खरिदका लागि रकम जुटाइदिएका छन्।  

जिल्ला अस्पतालमार्फत व्यवस्थापन हुने गरी शव वाहन व्यवस्थापनको प्रक्रिया अघि बढ्ने छ। शव वाहनको अभावमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव ओसार्न समस्या भइरहेका बेला रुइटले ८ जना व्यक्तिहरूबाट १० लाख २५ हजार रुपैयाँ जुटाइदिएका हुन्। रुइटका अनुसार लामा गुरु झट्याल रिम्पोचेका छोरी सरस्वतीदेवीले ५ लाख रुपैयाँ दिएकी छन्। स्वर्गीय नेसार डोल्माको सम्झनामा डोङ्गला, तेञ्जिङ उक्याव, सोनाम टाँसी र पान्देन रोट्टाले १ लाखका दरले सहयोग दिएका छन्।  

मिङमा उक्याव र लाक्पा छिरिङले ५० हजारका दरले सहयोग गरेका छन्। थुप्तेन उक्यावले २५ हजार रुपैयाँ दिएको रुइटले जानकारी दिए। यो रकमले शव वाहन खरिद गर्न पुग्ने र त्यो जिल्ला अस्पताललाई दिने रुइटले बताए। शव वाहन खरिदमा भन्सार छुट हुन्छ। शव वाहन नहुँदा एम्वुलेन्समा शव बोक्नुपर्ने बाध्यता रहँदै आएको छ। ताप्लेजुङका ग्रामीण भोगबाट ट्याक्टरमा राखेर शव ओसारपसार हुँदै आएको छ।

प्रकाशित: ८ जेष्ठ २०७८ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App