स्वास्थ्य

अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउँदै युवा राजदूत

नेपाल अहिले विश्वव्यापी कोरोना महामारीका कारण ठूलो संकट भोगिरहेको छ। कोरोना संक्रमितका लागि आवश्यक अक्सिन ग्यास तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीसमेत अभाव भोगिरहेको  नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको याचना गरिरहेको छ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा नेपालस्थित विदेशी कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ निकायमार्फत सहयोगको याचना गरिरहेका छन् भने परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली कूटनीतिक नियोगमार्फत नेपालमा सहयोगका लागि आग्रह गरिरहेको छ। विश्व नै कोरोना महामारीबाट प्रभावित भइरहेकाले सहयोगको आश्वासन प्राप्त भए पनि सहजै सहयोग जुटिरहेको अवस्था छैन। यसबीचमा कतिपय मुलुकमा नियोग प्रमुखको जिम्मेवारीमा रहेका नेपाली युवा राजदूतको पहल र संक्रियता भने प्रशंसनीय देखिएको छ।  

नेपाल संकटसँग जुधिरहेका बेला बिहीबार स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा स्पेनबाट चार्टड विमानमार्फत अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आफै नेपाल आइपुगेकी छिन्। उनको सक्रिय पहलका कारण स्पेनबाट उच्च सरकारी अधिकारीसहितको टोली अत्यावश्यक स्वास्थ्य सामग्रीसहित चार्टड विमानमार्फत नेपाल आएको हो। स्पेनबाट आएका स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर ५० थान अक्सिजन कन्सनट्रेटर २० थान, भेन्टिलेटर थान, २४ लाख थान मास्क, ४२ हजार ५०० वटा पञ्जा, रेस्पिरेटर्स १४ थान, एन्टिजेन टेस्ट किट एक लाख ६४ हजार र ३० हजार आइसोलेसन गाउन्ज रहेका छन्। संकटका बेला मुलुकलाई स्वास्थ्य सामग्री जुटाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ।

केही दिनअघि ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको सक्रिय पहलमा पाँच सय ५० अक्सिजन सिलिन्डर नेपाल आइपुगेका छन्। राजदूत ढकालले त्यहाँस्थित गैर आवासिय नेपाली संघसँग समन्वय गर्दै नेपाली कामदारको सहयोगमा उक्त सिलिन्डर संकलन गरी नेपाली पठाएकी थिइन्।  

सरकारले सबै मुलुकमा रहेका नियोग प्रमुखहरूलाई सहयोगका लागि पहल गर्न आग्रह गरे पनि पहिलो चरणमा यी दुई महिला युवा राजदूत शेर्पा र ढकालले आफ्नो भूमिकालाई शसक्त ढंगले निर्वाह गरेका छन्। संकटका बेला उनीहरूको सक्रियता र पहल अब्बल र अनुभवी भनिएका राजदूतहरूको भन्दा पनि अगाडि देखिएको छ। नेपालकातर्फबाट विभिन्न मुलुकमा रहेका नियोगबाट सहयोगको पहल नभएको आलोचनाकाबीच यी दुई राजदूतले आफ्नो भूमिकालाई पुष्टि गरेका हुन्।

हाल चीन र अमेरिकाका तर्फबाट पनि स्वास्थ्य सामग्री सहयोग भइरहेका छन्। तर ती सहयोग नेपालस्थित ती मुलुकका नियोग प्रमुख तथा ती मुलुकको आफ्नै पहलमा स्वास्थ्य सामग्री नेपाल पठाएका हुन्। बिहीबार नै चीनको तिब्बत स्वायत्त सरकारले महत्वपूर्ण स्वास्थ्य सामग्री नेपाल पठाएको छ। सहयोग स्वरुप पठाइएका स्वास्थ्य सामग्रीमा ३० हजार लिटर लिक्विड अक्सिजन, आठ सय अक्सिजन सिलिन्डर, १० अक्सिजन कन्सेन्ट्रयाक्टर्स, पाँच वटा भेन्टिलेटर, दुई सय आइसियु वेड र १५ हजार एनिजिन किट रहेका छन्।  

बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा एस्ट्राजेनिका खोप उपलब्ध गराउन आग्रह गरेका थिए। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका नेपाली नियोगहरूलाई स्वास्थ्य सामग्री जुटाउन सबै नियोगहरूलाई परिचालन गरिसकिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। मन्त्रालयले सकेसम्म खोपका लागि विशेष पहल गर्न नियोगहरूलाई आग्रह गरेको छ। तर हालसम्म खोप प्राप्त गर्ने विषयमा निश्चित भइनसकेको मन्त्रालयले जनाएको छ।

विदेशस्थित नेपाली नियोगहरूलाई नेपाललाई अहिले के कस्तो स्वास्थ्य सामग्री आवश्यक छ भन्नेबारेमा पनि जानकारी गराइसकिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन्। ‘हामीले अहिले कस्ता सामग्री आवश्यक छ भनेर स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको सूची नै नियोगहरूमा पठाइदिएका छौँ, यसले तत्काल आवश्यक पर्ने अत्यावश्यक सामग्री संकलनमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ लम्सालले भनिन्।

प्रकाशित: ७ जेष्ठ २०७८ ०१:३३ शुक्रबार

युवा राजदूत