स्वास्थ्य

एकै गाउँका दुईसहित रौतहटका तीन महिलाको मृत्यु

कोरोना संक्रमणले रौतहटमा एकै दिन तीन महिलाको मृत्यु भएको छ। गत २४ घन्टामा मृत्यु भएका तीन जनामध्ये सबै महिला भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।  

हरेक दिन कोरोनाको गतिविधि जानकारी दिँदै आएको जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबार उपलब्ध गराएको विवरणमा गत २४ घन्टामा मृत्यु भएका तीन जनामध्ये एकै गाउँका दुईसहित तीन जना महिला रहेका छन्।  

मृत्यु हुनेमा वृन्दावन नपा ७ की ५६ वर्षीया खेदनी देवी र वृन्दावन ९ की ४२ वर्षीया सुमित्रा देवीका साथै गौर नपा ८ की ५५ वर्षीय सुनीता देवी रहेका छन्।  

यसैबीच गत २४ घन्टामा रौतहटमा थप २६ जनामा कोरोना संक्रमण देखिएको छ। जिल्लामा १४६ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको हो। संक्रमित हुनेमा परोहा नपाका १२, बौद्धिमाई नपा र यमुनामाई गापाका ६/६ जना र गढीमाई नपा र राजदेवी नपामा एकएक जना रहेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७८ १३:२९ बिहीबार

कोरोना संक्रमण जिल्ला प्रशासन कार्यालय