स्वास्थ्य

सरकारको त्रुटिले धेरैको मृत्यु

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएयता २ हजार बढीको मृत्यु भइसकेको छ। चैत २० गतेयता संक्रमणबाट २ हजार १ सय ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत वर्षको पहिलो लहरमा ३ हजार ३२ जना संक्रमितको मृत्यु भएको थियो।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख बाबुराम मरासिनीले सरकारको खराब व्यवस्थापनका कारण गत वर्षको तुलनामा यो वर्ष धेरैको मृत्यु भएको बताए। ‘नेपालको मृत्युदर दक्षिण एसियाका अन्य मुलुकको तुलनामा बढी छ। सरकारले राम्रो व्यवस्थापन गरेको भए यति धेरै मानिसको मृत्यु हुने थिएन’, उनले भने। सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए। ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो। 

अस्पताल पुग्दा ७० प्रतिशत अक्सिजन घटिसकेको हुन्थ्यो। यस्ता बिरामीको अस्पताल पुगेको दुईचार घण्टामै ज्यान गयो’, उनले भने। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो एक सातायता संक्रमितमध्ये २ प्रतिशतको मृत्यु भएको देखिन्छ। ‘हामीकहाँ जुनसुकै उमेर समूहका पनि धेरैको मृत्यु भयो तर २ प्रतिशतभन्दा माथि गएको छैन। अब सुधार पनि हुन सक्छ’, उनले भने।

संक्रमणदर ४१ प्रतिशत

गत २४ घण्टामा कोरोना संक्रमण दर अघिल्लो दिनको भन्दा चार प्रतिशतले बढेर ४१ प्रतिशत पुगेको छ। आइतबार संक्रमणदर ३७ प्रतिशत थियो। गत २४ घण्टामा परीक्षण गरिएका २२ हजार ८७ नमुनामध्ये ९ हजार २ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता १ लाख ८६ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

कुल संक्रमितमध्ये १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित छन्। तीमध्ये ५ हजार ७ सय ६७ जना गत २४ घण्टामा निको भएका छन्। संक्रमितमध्येमा १ लाख ६ हजार ५ सय १० जना होम आइसोलेसन र ६ हजार ९ सय ७० जना संस्थागत आइसोलेसनमा छन्। जटिल समस्या भएका १ हजार २ सय ५९ जनाको आइसियु र ४ सयजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा संक्रमित हुनेमा सबैभन्दा बढी २० देखि ३९ वर्षभित्रका छन्। गत २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४१ प्रतिशतले निषेधाज्ञा पालना गरेनन्

सरकारले महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमणको चेन बे्रक गर्न देशभरि निषेधाज्ञा जारी गरे पनि विभिन्न भागमा निषेधाज्ञा उल्लंघन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन केन्द्रले जनाएको छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रले गरेको अध्ययनका क्रममा ५९ प्रतिशतले निषेधाज्ञा पालना गरेको र ४१ प्रतिशतले नगरेको पाइएको छ। अध्ययनअनुसार निषेधाज्ञाकै बीचमा विभिन्न बहानामा पूजा, व्रतबन्धजस्ता कार्यक्रम गरिरहेको पाइएको छ। ‘जुन उद्देश्यका लागि निषेधाज्ञा गरिएको थियो, त्यो भएन’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नागरिकसित भने। 

‘सबैले राम्रोसित निषेधाज्ञा पालना गरेको भए संक्रमण यति बेला धेरै घटिसकेको हुन्थ्यो’, उनले भने, ‘निषेधाज्ञाकै बेलामा मानिसहरू अनेक बहानामा घरबाहिर निस्कने, एक ठाउँबाट अर्को ठाउँमा जाने, जमघट गर्ने गर्दा संक्रमण गाउँगाउँमा फैलिएको छ।’ कोरोना संक्रमण रोक्न उपचारभन्दा रोकथामको उपाय अपनाएका देश सफल भएकाले नेपालमा रोकथाममै जोड दिन निषेधाज्ञाको विधि अपनाएको डा.अधिकारीले बताए। अहिलेकै गतिविधि जारी रहे संक्रमण थप बढ्ने चेतावनी मन्त्रालयले दिएको छ।

प्रकाशित: ४ जेष्ठ २०७८ ०१:०४ मंगलबार

सरकारको त्रुटि कोरोना संक्रमणको दोस्रो लहर