स्वास्थ्य

रौतहटमा विस्तारै कम हुँदै कोरोना संक्रमण दर

रौतहटमा कोरोना संक्रमणको दर कम हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले हरेक दिन जारी गर्ने कोरोनासँग सम्बन्धित विवरणमा केही दिनदेखि जिल्लामा कोरोनाको संक्रमण कम भइरहेको देखिएको छ।  

सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको अपडेटमा जिल्लामा ३० जना नयाँ संक्रमित थपिएका छन्। गत २४ घन्टामा जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।  

जिल्लामा गत तीन हप्तामा कोरोना संक्रमितको संख्या सात सय ८७ पुगेको छ। अहिलेसम्म ८६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणको तुलनामा निको हुनेको संख्या अहिले पनि कम रहेको देखिएको छ। गत २४ घन्टामा जिल्लामा एघार जनाले कोरोनालाई जितेका छन्।

कोरोना संक्रमणले रौतहटमा ३१ र अन्यत्र २२ गरी जिल्लाका ५३ जनाले ज्यान गुमाइसकेका छन्। जिल्लामा मृतकको संख्या केही भएको देखिएको छ। चार दिन पहिले एकै दिन जिल्लाका दश जनाको मृत्यु भएको थियो।

भारतसित सिमाना जोडिएका रौतहटका ईशनाथ नपा ७, राजपुर नपामा २१, बौधिमाई नपामा ६, राजदेवी नपामा २१ सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।  

जिल्लामा निषेधाज्ञालाई कडाइपूर्वक पालना गराइएको र सर्वसाधारणमा पनि गत वर्षको तुलनामा केही चेतना वृद्धि भएको कारण संक्रमण दर कम भएको स्थानीयको बुझाइ रहेको छ।

सहरी क्षेत्रमा निषेधाज्ञाको कडा असर देखिएको भए पनि ग्रामीण क्षेत्रमा प्रहरीको गस्ती नभएकोले खासै प्रभावकारी नदेखिएको स्थानीयको भनाइ छ। ग्रामीण सडक तथा सहरी गल्लीहरुमा पनि प्रहरीको निगरानी बढ्नुपर्ने स्थानीयको माग रहेको छ।

प्रकाशित: ३ जेष्ठ २०७८ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App