स्वास्थ्य

बाँकेमा घट्दै कोरोना संक्रमण दर

पछिल्लो दुई दिनयता बाँकेमा कोरोना संक्रमणको दर घटेको छ। विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या घटेको पाइएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र बागेश्वरी ल्याबमा आइतबार र सोमबारको रिपोर्टमा संक्रमितको संख्या घटेको देखिन्छ।  

केन्द्रका अनुसार आइतबार कुल १ हजार १ सय ७ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ५ जनालाई संक्रमण पुष्टि भयो । त्यसमध्ये बाँकेका २ सय ७ जना पुरुष र १ सय ५८ महिला गरी ३ सय ६५ जनालाई मात्र कोरोना पोजेटिभ देखियो।

आइतबार मात्रै २ सय ८८ पुरुष र २ सय २३ जना महिला गरी ५ सय ११ जना निको भएर डिस्चार्ज भएका छन्।  

यस्तै सोमबार मेडिकल कलेज र बागेश्वरी ल्याबमा कूल ३ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४९ जनालाई कोरोना पुष्टि भएको छ। यसमध्ये बाँकेका ४० जना पुरुष र ३५ जना महिला गरी ७५ जनालाई मात्र संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

यसअघि प्रयोगशाला रिपोर्टमा कोरोना संक्रमण दर दैनिक रुपमा ७० देखि ८५ प्रतिशतसम्म पुग्ने गरेको थियो।  

फोकल पर्सन ओलीका अनुसार सोमबार पनि संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै भएको छ। १ सय ७५ जना पुरुष र १ सय ९० महिला गरी ३ सय ६५ जना निको भएर डिस्चार्ज भएका छन्। संक्रमित हुनेको संख्या घटे पनि मृत्युदर भने उस्तै छ। केन्द्रका अनुसार कोरोना संक्रमणबाट बाँकेमा सोमबार मात्र १३ जनाको मृत्यु भएको छ।

बाहिरी जिल्लाका १० र बाँकेका ३ जनाको मृत्यु भएको हो । यसअघि आइतबार बाँकेका ५ र बाहिरी जिल्लाका ६ गरी ११ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो ।  

पछिल्लो दुई दिनयता कोरोनाबाट संक्रमित हुने भन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: ३ जेष्ठ २०७८ १४:०७ सोमबार

कोरोना संक्रमण पीसीआर परीक्षण