स्वास्थ्य

ठूला अस्पताललाई अक्सिजन दिँदै सुनसरी

फाइल तस्बिर

कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन सुनसरीबाट पश्चिमका विभिन्न जिल्लाका अस्पतालले ठूलो संख्यामा लान थालेका छन्। मुलुकभर अक्सिजनको अभाव भएर मानवीय संकट झेल्नु परेपछि पश्चिमका जिल्लाका ठूला अस्पतालले सुनसरीबाट लाने गरेका हुन्।  

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा अक्सिजन अभावकै कारण ज्यान जाने अवस्था आउन थालेपछि लहान, जनकपुर, लुम्बिनी, दाङ, काठमाडौंलगायतका स्थानमा ठूलो परिमाणमा अक्सिजन लग्न थालिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो। प्रशासन कार्यालयका अनुसार अहिलेसम्म ७ हजारभन्दा बढी अक्सिजन सिलिन्डर लगि सकिएको छ। अरु धमाधम लाने क्रम छ।  

प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालका अनुसार स्वास्थ्य मन्त्रालयले दुई पटक सेनाको हेलिकप्टर चार्टर गरेर अक्सिजन लगि सकेको छ। ‘अहिलेसम्म जे जति अक्सिजन लगिएको छ। नयाँ सिलिन्डरसहित लान दिइएको छैन, उत्तैबाट ल्याएका सिलिन्डरमा भरेर दिने गरिएको छ,’ ढकालले भने, ‘काममा असर हुन नदिने गरि भरेर लाने व्यवस्था मिलाएका छौं।’ सुनसरी र इटहरीमा दुईवटा, दुहवीमा एउटा गरि तीनवटा अक्सिजन उत्पादन उद्योग छन्। यी उद्योगले पूर्वका सबै स्थानमा अक्सिजन खपत गर्ने गरेका छन्।

प्रकाशित: १ जेष्ठ २०७८ ०८:१९ शनिबार