स्वास्थ्य

तपाईले लगाउनु भएको मास्क सुरक्षित की असुरक्षित!

कोरोनाको दोस्रो लहर चल्दैछ। स्थिती दिन प्रतिदिन भयावह बन्दै गएको छ। त्यसैले अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणलाई भनिएको छ। सोहि अनुरुप सर्वसाधारणहरु पनि शहरी क्षेत्रमा प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाएर हिँडडुल गर्ने गरेका छन्।  

मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले कडाइ गरेपछि अहिले सस्तोमा पाइने सर्जिकल मास्कको माग भने ह्वातै बढेको छ।  

सर्जिकल मास्क जिल्ला भरिकै मेडिकल पसलमा मात्र होइन, पान पसल, किराना पसल, नास्ता पसल, फुटकर पसल र फुटपाथमा पनि बिक्री वितरण गर्ने गरेको हेर्न पाइन्छ।  

सर्वसाधारणले पनि सहज पहुँचको आधारमा ती पसलहरुबाट नै मास्क खरिद गरेर लगाउने गरेका छन्। तर ती मास्क स्वास्थ्य मापदण्डको अनुसार सुरक्षित छ कि छैन भने कसैले पनि सोच्दैनन्।  

पसलै पिच्छे बिक्री हुने यस्तो मास्कको राखरखाव र बिक्री वितरण तरिका पक्कै पनि स्वास्थ्य मापदण्ड पूरा गरेको हुँदैन अर्थात स्वस्थ्यकर छैन।  

पसलहरुमा लहरै लगाएर खुलारुपमा बिक्री वितरणका लागि राखिएको खुल्ला प्याकेटमा रहेका मास्कमा पहिल्यैदेखि वातावरणमा रहेको धुलोको कणहरु बसेका हुन्छ। जुन कि स्वास्थ्यको लागि असुरक्षित छन्।

यसरी मास्क बेच्नेहरु न मास्क निकाल्दा हातलाई सेनिटाइज गर्छन् न त अर्को कुनै सुरक्षाको उपाय नै अपाउने गर्छन्। मास्क खरिद बिक्री गर्ने दुवैले नांगै हातले जथाभावि मास्क खरिद बिक्री गरेर कोरोना संक्रमण रोक्नुको साटो झन् बढाउने काम गर्ने गरेको जलेश्वरस्थित मेडिकल पसल संचालक संजित पाठक बताउँछन्।  

‘जथाभावि कुनै सुरक्षाको उपाय नै नअपनाएर मास्क बिक्री गर्नुले सर्वसाधारणको स्वास्थ्य संग सोझै खेलवाड गर्नु हो।’ मेडिकल पसल संचालक पाठकले भने, ‘यसलाई तत्काल नियन्त्रण नगरिए, त्यस्ता असुरक्षित मास्क लगाउनुको कुनै अर्थ हुँदैन, हामी मास्क लगाएर सुरक्षित छौ भने सोचेर बसेका हुन्छौं तर यसको ठिक उल्टो हामी त्यति नै असुरक्षित हुन्छौं।’  

मास्क मेडिकल पसलमा मात्र होइन सर्वसधारणको सहज पहुँच हुने ठाउँमा बिक्री वितरण गरिनु पर्छ र गर्ने गरिएको पनि छ तर स्वास्थ्य मापदण्डको खयाल गरेर मात्र बिक्री वितरण भएको भए वेश हुने तर्क पाठकको रहेको छ।

यता असुरक्षितरुपमा बिक्री हुने मास्क बिक्रेतालाई स्वास्थ्य मापदण्ड पुर्‍याएर बिक्री वितरण गर्न लगाउने कुनै निकाय सक्रिय देखिँदैन। सर्जिकल मास्क असुरक्षित तरिकाले बिक्री वितरण हुनुका साथै महगोमा समेत बिक्री वितरण हुने गरेको गुनासो जिल्ला भरि नै सुनिन्छ।  

प्रति मास्क गुणस्तर अनुसार दुई रुपैयाँदेखि ७ रुपैयाँसम्ममा खरिद गरिने गरिएपनि बिक्री दर रेट अहिले १० रुपैयाँ छ। मानौ की जुन सुकै मास्कको रेट सरकारले नै १० रुपैयाँ कायम गरि दिए जस्तो लाग्दछ, जलेश्वर २ का स्थानीय विनोद महतोले तर्क गर्दै भने, ‘दुई रुपैयाँमा पाइने मास्क पनि १० रुपैयाँमा बिक्री गर्नु गलत हो, त्यसमा पनि असुरक्षितरुपमा मास्क वितरण गर्नु स्वास्थ्यसंग सोझो खेलवाड हो।’  

स्थानीय प्रशासनले समेत मास्कमा भइ रहेको खेलवाड प्रति गम्भीर नदेखिएको महतो बताउँछन्। तत्काल स्थानीय प्रशासनले असुरक्षितरुपमा बिक्री वितरण गरिने मास्कलाई सुरक्षित तवरले बिक्री वितरण गर्ने वातावरण निर्माण गरिनुको अर्को कुनै विकल्प नरहेको स्थानीयको गुनासो छ।  

संगै जिल्लाको कोभिड व्यवस्थापन समिति पनि सक्रिय भएर बढी मूल्य लिएर बिक्री वितरण भई रहेको मास्कको अधिक्तम मूल्य तोकेर बिक्री वितरण गर्न गराउन तर्फ लाग्नु पर्ने आवश्यक रहेको स्थानीयको माग छ।  

यसैबीच प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मास्क वितरणमा स्वास्थ्य मापदण्ड पूरा गरेर बिक्री वितरण गर्न गराउन जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र महात्तरीको बैठक नै बसेर यसमा कडाई गरिने बताएको छ।  

साथै बढी मूल्यमा मास्क बिक्री वितरण गर्ने कार्यलाई समेत निरुत्साहित गर्नैका लागि डिसिसिएमसीबाटै मास्कको मूल्य तोकेर नै यस कार्यलाई नियन्त्रण गर्ने प्रयास गरिने प्रजिअ भट्टराईले बताएको छ। अहिले काठमाडौंमै मास्कको मूल्य बढेकाले यहाँ पनि महँगोमा मास्क बिक्री वितरण भई रहेकोले दर रेट तोकेर नै बिक्री वितरणलाई सहज पारिने उनले बताएको छ।

प्रकाशित: ३० वैशाख २०७८ ०६:५५ बिहीबार

मास्क सुरक्षित की असुरक्षित कोरोनाको दोस्रो लहर