स्वास्थ्य

सीमित स्वास्थ्यकर्मीले धानेको त्रिवि शिक्षण अस्पताल

महामारी स्थलगत रिपोर्टिङ

त्रिवि शिक्षण अस्पताल कोभिड वार्डमा शय्या अभाव भएपछि बाहिर पेटीमा राखेर कोरोना संक्रमितको उपचार गरिँदै। तस्बिर: केशवराज थोकर/नागरिक

लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो। बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी कायम राखौं।

तर, अस्पताल परिसरभित्र नसोचेको भीडभाड र अस्तव्यस्तता देखियो। कतिपयले मास्क वा स्यानिटाइजर राम्ररी प्रयोग गरेका थिएनन्। केही नर्स र डाक्टर पिपिईबिनै कोरोना संक्रमितको उपचारमा खटिएका थिए। बिरामीका आफन्तले कोरोनाबाट जोगिन मास्क लगाए पनि भौतिक दूरीको भने ख्यालै गरेका थिएनन्। देशकै ठूलोमा पर्ने यो अस्पताल अहिले संक्रमितले भरिभराउ छ। र, अस्तव्यस्त पनि। वार्डका गल्लीमा समेत संक्रमित छन्। शय्या भरिएपछि बिरामीलाई बाहिर राखेर अक्सिजन दिइएको छ। कुरुवा खुम्चिएर बसेका छन्। अस्पताललाई कोभिडका बिरामीको चाप थेग्न कठिन छ। चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा निरन्तर खटिएका छन्। 

कोभिडका बिरामीले अस्पताल खचाखच भरिएपछि चिकित्सक र स्वास्थ्यकर्मी अत्तालिने अवस्था आएको छ। उनीहरू साँघुरो संरचनाभित्र पनि उपचार पद्धति सहज र फराकिलो पार्न तल्लीन छन्। तर अस्पताल प्रशासनले यस्तो बेलामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन गर्न सकेको छैन। चिकित्सकले गत वर्षको प्रोत्साहन भत्ता हालसम्म पाएका छैनन्। अस्पताल प्रशासनले पर्याप्त पिपिई र स्वास्थ्य उपकरणसमेत उपलब्ध नगराएको उनीहरूको गुनासो छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भएको जनशक्तिलाई कोभिडका बिरामी उपचारमा केन्द्रित गर्न निर्देशन दिएपछि अस्पताल प्रशासनले चिकित्सक र स्वास्थ्यकर्मीलाई एकोहोरो काममा खटाइरहेको छ। प्रोत्साहन भत्ता र आवश्यक स्वास्थ्य सामग्री नपाउँदा उनीहरूको मनोबल बढ्न सकेको छैन तर बिरामीका खाटिर खटिएकै छन्। अहिले सबैभन्दा बढी चापमा छन् चिकित्सक र नर्स। उनीहरू ज्यानै बाजी राखेर कोरोनाविरुद्ध लडिरहेका छन्। आफू संक्रमित भएर पनि उपचारमा खटिरहेका चिकित्सकले प्रशासन तथा स्वास्थ्य मन्त्रालयको व्यवहारप्रति आक्रोश पोखे। यस्तो बेलामा माथिल्लो तहका प्रमुखहरू अस्पताल नआएको र कोभिडका बिरामी सीमित स्वास्थ्यकर्मीको जिम्मा लगाएको उनीहरू बताउँछन्।

‘कोभिडका बिरामीको जिम्मा हाम्रै काँधमा छ, प्रशासन तथा कार्यालय प्रमुखले कुनै शान्त्वना दिएका छैनन्, विपन्न र गरिबको मुख हेरेर उपचार गरेका छौं तर माथिल्लोे तहका कर्मचारी अस्पताल छिर्न डराउँछन्,’ एक चिकित्सकले भने। ती चिकित्सकका अनुसार तीन दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिडका बिरामीको उपचारमा केन्द्रित गर्न अस्पताल प्रशासनलाई पत्र पठाएको छ। तर, प्रशासनले सीमित स्वास्थ्यकर्मीलाई मात्रै बिरामी उपचारमा खटाउँदै आएको छ। थोरै स्वास्थ्यकर्मी लगातार उपचारमा खटिँदा बिरामी पर्न थालेका छन्। थोरै जनशक्तिले धेरै बिरामीको उपचार कठिन हुन्छ नै। 

कोरोना संक्रमितको नियमित रेखदेखमा बढी खटिने नर्स हुन्। सामान्य बेडका बिरामीलाई प्रति २÷२ घण्टाको फरकमा नर्सहरूले निरीक्षण गर्छन्। उनीहरूरूले आवश्यक औषधि खुवाउने र बिरामीको अवस्था बुझ्छन्। महामारी भएकाले नर्सहरूको बिदा कटौती गरिएको छ। उनीहरू दैनिक १० घण्टा बिरामीको उपचारमा खटिने गरेका छन्। ‘यहाँनिर एकजना नर्स र चिकित्सकले २४ जना बिरामी हेर्नुपरेको छ,’ कोभिड वार्डमा कार्यरत एक नर्सले भनिन्, ‘जनशक्ति धेरै भए अलि सहज हुने थियो।’

चाप बढेपछि कोरोना संक्रमित बिरामीसँगै कुरुवालाई पनि राख्न थालिएको छ। आइसियु र भेन्टिलेटरमा राखिएका संक्रमितका कुरुवालाई बाहिर गल्लीमा राखिएको छ। अस्पतालले कोभिडका बिरामीको संख्या बढेपछि बेड पनि थपेको छ। ३ सय हाराहारी बेडमा कोभिडका बिरामी छन्। तर यतिमात्रै पर्याप्त होइन। दैनिक कोभिडका ५० जनाभन्दा बढी बिरामी त्यहाँ पुग्छन्। अस्पतालमा ठाउँ नभएपछि फर्काउनुको विकल्न छैन। अस्पतालले चाप बढेपछि एनएक्स १, २ र ३ नम्बर ब्लकमा पनि कोभिडका बिरामी राखेर उपचार गर्न थालेको छ। त्यस्तै गणेशमान सिंह भवन र वर्थिङ सेन्टरलाई पनि कोभिड केन्द्रित भवन बनाइएको छ। नयाँ बन्दै गरेको भवनमा पनि कोभिडकै बिरामी राख्न थालिएको अस्पताल प्रशासनले जनाएको छ।

कोभिडका बिरामीले अस्पताल खचाखच भरिएपछि चिकित्सक र स्वास्थ्यकर्मी अत्तालिने अवस्था आएको छ। उनीहरू साँघुरो संरचनाभित्र पनि उपचार पद्धति सहज र फराकिलो पार्न तल्लीन छन्। तर, अस्पताल प्रशासनले प्रोत्साहन गर्न सकेको छैन। 

बिरामीको चाप बढेपछि इमर्जेन्सीतर्फ पनि कोभिड इमर्जेन्सी भनेर ९ वटा छुट्टै बेड राखिएको छ। गणेशमान सिंह भवनको अगाडिपट्टि कोभिड इमर्जेन्सी कक्ष निर्माण गरिएको छ। अक्सिजनको कमी भएका बिरामीलाई यहींबाटै अक्सिजन लिनसक्ने व्यवस्था गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। उनले भएभरको जनशक्ति प्रयोग गरेर उपचारमा सहजता बनाइएको दाबी गरे। 

‘केही चिकित्सकले भत्ता पाइसकेका छन्, केहीले पाउन बाँकी छ, स्वास्थ्य मन्त्रालयले दिएको बजेट अपुग भएर कतिपयलाई भत्ता नदिइएको हो,’ उनले भने, ‘भत्ताको हिसाबकिताबभन्दा पनि यस्तो बेलामा उपचारमा केन्द्रित हुनुपर्छ।’ उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा अहिले ८ जनाको भेन्टिलेटर र १९ जनाको आइसियुमा उपचार भइरहेको छ। त्यस्तै २ सयभन्दा बढी संक्रमितको सामान्य बेडमा उपचार भइरहेको छ। अस्पतालले जटिल खालका संक्रमितलाई मात्र भर्ना गरेको छ। अक्सिजनको मात्रा कमी देखिएका बिरामीलाई बाहिरै राखेर अक्सिजन दिने गरेको अस्पताल प्रशासनले जनाएको छ।

कर्मचारीले भत्ता पाए चिकित्सकले पाएनन्

त्रिवि शिक्षण अस्पतालमा कोरोनाका बेला सबैभन्दा बढी खटिने ३० चिकित्सक र ६० जना नर्स छन्। उनीहरूलाई कोभिडका बिरामीको उपचारको जिम्मा दिइएको छ। तर, यीमध्ये अधिकांशले सरकारले दिने प्रोत्साहन भत्ता पाएका छैनन्। प्रशासनमा कार्यरत कर्मचारीले भने भत्ता पाइसकेका छन्। जोखिम मोलेर काम गर्दा पनि सरकारले कदर नगरेको चिकित्सकको गुनासो छ। तर पनि कोभिड व्यवस्थापन र उपचारमा चिकित्सक एकोहोरो खटिइरहेका छन्। ‘सामान्य शाखामा काम गर्ने कर्मचारीले कामै नगरी भत्ता बुझे तर उपचारमा खटिएका चिकित्सकलाई भत्ता छुट्ट्याइएन,’ एक चिकित्सकले भने, ‘आफैं संक्रमित भएर बिरामीको सेवा गर्दा पनि प्रशासनले बुझेन।’

निजी फार्मेसीको लुट

त्रिवि शिक्षण अस्पतालले सञ्चालन गरेको फार्मेसीमा सबैखाले औषधि राखिएको छैन। जसका कारण अस्पताल परिसरभित्र रहेका निजी फार्मेसीले औषधि र अन्य स्वास्थ्य सामग्रीमा चर्को मूल्य असुल्ने गरेका छन्। अस्पतालकै हाताभित्र रहेका निजी फार्मेसीले बढी मूल्य असुलेपछि बिरामी मर्कामा परेका छन्। अस्पतालभित्रको पाञ्चजन्य फार्मेसी, त्रिवि फार्मेसी तथा होडिङबोर्डसमेत नटाँसी राखिएका फार्मेसीले बिरामीलाई ठग्ने गरेका छन्। अस्पतालबाहिरको तुलनामा अस्पतालभित्र रहेका फार्मेसीले बढी मूल्य लिने गरेका छन्। औषधि मात्र होइन, मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्डलगायत कोरोनासँग जोगिन प्रयोग गरिने सामग्रीमा समेत ठगी गरेको बिरामी कुरुवाको गुनासो छ।

प्रकाशित: २९ वैशाख २०७८ ०१:०७ बुधबार

त्रिवि शिक्षण अस्पताल