स्वास्थ्य

रोल्पा अस्पतालमा अक्सिजन अभाव: संक्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

मंगलवार रोल्पामा बिरामी लिन आएको हेलिकप्टर। तस्बिर: नागरिक

रोल्पा अस्पतालमा भर्ना भएका एक जना कोरोना संक्रमितलाई थप समस्या देखिएपछि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। जलजला बहुमुखी क्याम्पसका उपप्राध्यापक श्याम बहादुर बुढालाई मंगलवार बिहान थप उपचारका लागि काठमाडौं पठाईएको रोल्पा अस्पताल प्रमुख डा.प्रकाश बहादुर बुढाले बताए।

अस्पतालका अनुसार १ सय ९० संक्रमित रहेको रोल्पा अस्पतालमा अझै दुई जना गम्भिर खालका बिरामी रहेका छन्।  अस्पताल प्रमुख डा.बुढाका अनुसार यतिबेला जिल्लाको स्थिति गम्भिर रहेको छ। अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। ‘भर्ना भएका ८ जना निरन्तर अक्सिजनमा छन्। अरु थप संक्रमित भएमा अक्सिजन दिन सक्ने अवस्था छैन।’ उनले भने। 

१५ शय्याबाट आज सम्म स्तर उन्नती गर्न नसकिएको अस्पतालमा यतिखेर अक्सिजनको चरम अभाव सुरु हुन थालेको छ। प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले भने, अस्पतालमा ३ वटा सिलिन्डर मात्रै बाँकी छ। पटक पटक माग गरेका छौं आएको छैन, अबस्था जटिल छ।’ उनका अनुसार पालिकाहरुमा केहि थान अक्सिजन भए पनि त्यो प्रयाप्त मात्रमा छैन।  

प्रकाशित: २८ वैशाख २०७८ ०७:२१ मंगलबार

रोल्पा अस्पतालमा अक्सिजन अभाव