स्वास्थ्य

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितको आन्द्राको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आन्द्राको जटिल शल्यक्रिया भएको छ। सिराहाको कल्याणपुर घर भएका ४० वर्षीय संक्रमित पुरुषको आज (सोमबार) करिब साढे २ बजे आकस्मिक शल्यक्रिया भएको हो। 

प्रतिष्ठानका अनुसार सानो आन्द्रामा प्वाल(छिद्र)परेको र पेटमा संक्रमण फैलिएको कारण उनको आकस्मिक शल्यक्रिया गरिएको हो। कोरोनाको दोस्रो लहर सुरु भएयता पुर्णरुपमा बेहोस पारेर कोभिड अस्पतालमा रहेको शल्यक्रिया कक्षमा गरिएको यो शल्यक्रिया पहिलो भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए।  

पेट फुलेर ज्यादै दुःखाई भएको, ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासलगायत समस्या भएपछि सिराहाको कर्जनास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना भएका थिए। सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनी वैशाख २६ गते थप उपचारका लागि वीपी प्रतिष्ठानमा रिफर भई आएका हुन्।  

उनको प्रतिष्ठानमा थप परीक्षण गर्दा सानो आन्द्रामा छिद्र देखा परेको थियो भने पेटमा संक्रमण फैलिएको पाइएको प्रतिष्ठानले जनाएको छ। त्यसपछि जेनेरल सर्जरी विभागका डा. निर्मलप्रसाद साहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। डा.साहको नेतृत्वमा सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापतीको टिमले शल्यक्रिया सफल गराएका थिए। यस्तै, नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्की पनि उक्त टिममा थिए।  

प्रतिष्ठानका अनुसार गत वर्ष पनि कोभिड महामारीको पहिलो लहरको बेला कोभिड अस्पतालमा संक्रमित ५ जना गर्भवती महिलाहरुको शल्यक्रिया भएको थियो। गाइनो विभागका डा. मनोज शाहको नेतृत्वमा दुई वटा, डा. दिप्ती दासको नेतृत्वमा दुई वटा र डा. दिपा साहको नेतृत्वमा एउटा शल्यक्रिया भएको प्रतिष्ठानका सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए। अर्का डा. सुर्यप्रसाद रिमालको नेतृत्वमा थप २ जना कोरोना पोजेटिभ महिलाको पनि नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०७८ १०:२६ सोमबार

वीपी प्रतिष्ठान संक्रमितको आन्द्राको जटिल शल्यक्रिया