स्वास्थ्य

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी

अस्पतालमा अक्सिजनको अभाव भएपछि जोहो गर्दै बिरामीका आफन्त । तस्बिर:  नागरिक

काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ। शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन्। कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन्। पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए। ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन्।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ। उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन्। भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शय्या छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन्। राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन्।

४/५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए। तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए। यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन्। राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४/५ दिन भएको अस्पतालहरूले जनाएका छन्।

टिचिङ अस्पतालले यो अवधिमा कोभिड वार्ड विस्तार गरी ३ सय शय्या पुर्‍याएको छ। त्यसैगरी अन्य अस्पतालले पनि यो अवधिमा धेरै शय्या विस्तार गरिसकेका छन्। श्वास–प्रश्वासमा गम्भीर समस्या आएका बिरामीको हकमा हाल रहेका अक्सिजन प्लान्टले धान्न नसकेपछि बिरामीलाई भने जति सेवा दिन नसकेको अस्पतालका सूचना अधिकारी रामप्रसाद अधिकारीले जनाए। उनका अनुसार टिचिङमा पाँच सय लिटर प्रतिसेकेन्डका दुईवटा र १ हजार लिटर प्रतिसेकेन्डका गरी तीनवटा अक्सिजन प्लान्ट सञ्चालनमा थिए। तीमध्ये दुईवटा महिना दिनअघि नै बिगे्रकाले समस्या उत्पन्न भएको हो। हाल सामान्य अवस्थाका बिरामीका लागि मात्र धान्न सक्ने अक्सिजन प्लान्ट छन्। बढी फ्लोमा अक्सिजन दिनेबित्तिकै पटक–पटक अक्सिजन बिग्रिने समस्या छ।  

सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धुव्र गैरेले बताए । 

पुरानो अर्को अक्सिजन प्लान्ट मर्मतका लागि फ्रान्सबाट आउने सामान लकडाउनका कारण रोकिएपछि समस्या परेको हो। अस्पतालले विकल्पस्वरूप २० टनको लिक्विड ट्यांकी जमिनमुनि राख्ने प्रक्रिया अघि बढाएको छ। यो सञ्चालनमा आउन थप एक साता लाग्छ। यो ट्यांकी बनेपछि बिरामीलाई राहत मिल्ने अधिकारीले बताए। साथै शनिबारै काठमाडौं महानगरपालिकाले थप १० वटा भेन्टिलेटर टिचिङ अस्पताललाई दिएको छ। योसहित टिचिङमा ६० वटा भेन्टिलेटर सञ्चालित हुनेछन्। हाल ३ सय वटा शड्ढया कोभिड उपचारका लागि रहेका र थप विस्तार गर्ने प्रक्रियामा रहेको अस्पतालले जनाएको छ।

राजधानीको अर्को ठूलो कोभिड अस्पताल वीरले पनि अक्सिजन र आइसियु पर्याप्त दिन नसक्दा बिरामी उपत्यकाबाहिर जानुपरेको बताइएको छ। सामान्य अवस्थामा भन्दा दैनिक १० गुणा बढी अक्सिजन चाहिने ८० प्रतिशत बिरामी भर्ना भएकाले अस्पतालले धान्न नसकेको वीरका फिजिसियन डा. धु्रव गैरेले बताए। उनका अनुसार पहिलो लहरको कोरोना संक्रमणको तुलनामा दोस्रो लहरका सबै बिरामी अक्सिजन चाहिने अवस्थाका मात्र भर्ना भएकाले पनि अस्पतालहरूले धान्न नसकेका हुन्। वीर अस्पतालले नयाँ भवनमा थप ३ सय ५० शय्या सञ्चालनमा ल्याउँदै छ। थपसहित ५ सय ५० क्षमताको कोभिड अस्पताल सञ्चालनमा आउने सम्भावना देखिए पनि अक्सिजन पर्याप्त हुने स्थिति छैन। अक्सिजन अभाव भएपछि शनिबार उपत्यकाका चार निजी अस्पताल हेल्पिङ ह्यान्डस, दीर्घायु गुरु, मेडिकेयर र नेपाल–भारत मैत्री अस्पतालले कोरोना संक्रमितको उपचार गर्न नसक्ने जनाएका छन्। पे्रस विज्ञप्ति जारी गरी अस्पतालहरूले अब कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका हुन्।

शनिबार थप ५३ जनाको मृत्यु

कोरोना संक्रमणका कारण शनिबार थप ५३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ। कुल संक्रमितमध्ये मृत्यु हुनेको तथ्यांक १.२ प्रतिशत रहेको छ। शनिबार १८ हजार ३ सय ४ वटा नमुना परीक्षण गर्दा ८ हजार ४ सय १८ जना संक्रमित देखिएका छन्। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ। तीमध्ये हाल देशभरिमा ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितमध्ये ३५ हजार ६ सय ७८ जना काठमाडौं उपत्यकाका छन्। काठमाडौं उपत्यकामा शनिबार ३ हजार ७२ जना नयाँ संक्रमित थपिएका छन्।

प्रकाशित: २६ वैशाख २०७८ ००:५५ आइतबार

आइसियु अभाव