स्वास्थ्य

सरकारद्वारा सेरमको बचाउ : सेरममा आगलागी हुँदा खोप नपाएको जिकिर

कोरोनाविरुद्धको खोप ल्याउन आनाकानी गरिरहेको सरकारले फेरि अर्को बहाना बनाएको छ। आफूबाट भएको कमजोरी नस्विकारी सरकारले भारतको सेरम इन्ष्टिच्युटमा भएको आगलागीलाई बहाना बनाएर खोप नल्याउन पुनः अर्को बहाना पाएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले कोभिशिल्ड खोप खरिदबारे आएका समाचार सन्दर्भमा स्पष्ट पार्दै तत्काल थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको पनि स्पष्ट पारेको छ।

‘खोप वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ, थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन,’ मन्त्रालयको प्रष्टीकरण पत्रमा भनिएको छ।

मन्त्रालयले दक्षिण एशियामा भारतपछि नेपालले खोप अभियान शुरु गरेको जनाउँदै सो अभियानलाई थप विस्तृत बनाई लान खोप खरिद गर्न औषधि व्यवस्था विभागको आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको पनि प्रष्ट पारेको छ।

यस्तै मन्त्रालयले अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको जनाउँदै नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने समेत स्पष्ट पारेको छ। 

प्रकाशित: २४ वैशाख २०७८ ०९:४० शुक्रबार

कोरोना विरुद्धको खोप भारतको सेरम इन्ष्टिच्युट