स्वास्थ्य

बेड नपाएपछि कुर्सीमा राखेर उपचार

निजी अस्पतालमा भर्ना नपाएका बिरामीलाई सरकारी अस्पतालले भने अस्पतालको प्यासेज र कुर्सीमा राखेर समेत सेवा दिइरहेका छन्। शुक्रराज ट्रपिकल अस्पतालको २२ वटा आईसियूसहित ६० जनाको उपचार गर्ने क्षमता हो। तर यो अस्पतालले दैनिक २०/२५ जना बिरामीको ईमर्जेन्सी कक्षभित्रै उपचार गर्छन्। ईमर्जेन्सीभित्रका सबै शय्या भरिएपछि कुर्सीमा राखेर समेत उपचार गरिन्छ। दुई सातादेखि राजधानीमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएपछि यो अस्पतालले क्षमताभन्दा बढी बिरामीलाई उपचार गर्न थालेको हो।

अस्पतालका डा.किजन महर्जनका अनुसार कोरोनाका बेड छिटो खाली नहुने हुँदा कति बिरामीको चार/पाँच दिनसम्म ईमर्जेन्सी कक्षमै उपचार हुन्छ। खाली भएपछि मात्र वार्डमा पुग्छन्। बिरामीको अवस्था अनुसार ज्वरो र अक्सिजनको स्थिति हेरेर घर पठाइन्छ भने अक्सिजन चाहिने बिरामीलाई अस्पतालको ईमर्जेन्सी कक्षमा रहेका कुर्सीमा राखेरै उपचार गर्ने गरेको बताए। निजी अस्पतालले भर्ना नलिएका विपन्न बिरामीलाई ईमर्जेन्सी कक्षमै व्यवस्थापन गर्ने गरेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए। ‘विपन्न देखेपछि निजी अस्पतालले भर्ना नलिएपछि यहाँ आउछन्, हामीले आवश्यक्ता अनुसार अक्सिजन दिन्छौं,’ उनले भने। अस्पतालको आईसियूसहित ८५ शय्या कोभिडका बिरामीको उपचार गर्ने क्षमता छ। ईमर्जेन्सी कक्षमै उपचार पाएका बिरामीलाई वार्डका शय्या खाली भएपछि भर्ना गर्ने गरेको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालले केही दिनदेखि क्षमताभन्दा बढी बिरामीलाई अस्पतालको प्यासेजमा राखेर उपचार गरिरहेको छ। विस्तारित बेडसहित २ सय ५० बेड सबै भरिभराउ भएपछि अस्पतालले क्षमताभन्दा बढी बिरामीलाई प्यासेजमै अक्सिजन दिएर पनि उपचार गरिरहेको छ। कम अक्सिजन चाहिने अवस्थाका बिरामीलाई प्यासेजमै राखेर भएपनि उपचार गरिरहेको चिकित्सकको भनाइ छ। यो सहित टिचिङ अस्पतालमा २ सय ९० शय्या विस्तार हुनेछ। हाल ४४ वटा आईसियू, ३० वटा हाइ डिपेन्डेन्सी युनिट र बाँकी जनरल वार्ड सञ्चालनमा छन्। सिभिल अस्पतालले दुई साताभित्रै शय्या विस्तार गरी ८४ वटा बेड सञ्चालनमा ल्याएको छ। राजधानीमा कोभिडका बिरामीलाई सेवा दिन सरकारले निर्देशन दिएको भन्दा बढी क्षमता विस्तार गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा.विद्याननिधी पौडेलले बताए। केही दिनमै १ सय शय्या विस्तार गर्ने तयारी भइरहेको उनले जनाए।

राजधानीकै सशस्त्र प्रहरी बल अस्पतालमा नेपालमा दोस्रो लहरको कोरोना संक्रमणसँगै क्षमताभन्दा बढी बिरामी आउन थालेका छन्। दैनिक दर्जनौं बिरामी अस्पतालको क्षमताभन्दा बढी आउने गरेको बताइएको छ। क्षमताभन्दा बढी बिरामी आउन थालेपछि यो अवधिमा १ सय ४० शय्या क्षमताको कोभिड वार्डलाई वृद्धि गरेर १ सय ७५ शय्या पुर्याइएको छ। तर अझै पुगेको छैन। केही दिनमै थप गरी दुई सय शय्यामा विस्तार गर्न लागेको बताइएको छ।  

संक्रमणदर ४२.९ प्रतिशत  

कोरोना संक्रमणको कारण पछिल्लो २४ घन्टामा ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप मृतकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार साँझसम्म ३ हजार ५ सय २९ पुगेको छ। कुल संक्रमितमध्येमा हालसम्म १.२ प्रतिशतको मृत्यु भएको छ।

परिक्षण भएका नमुना मध्येमा ४२.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमितसहित नेपालमा कुल संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ। ती मध्येमा ७१ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्येमा ६७ हजार २ सय ४६ जनाको होम आइसोलेसनमा छन् भने ५ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ। त्यसैगरी ६ सय ५२ जनाको आईसियूमा र २ सय १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। काठमाडौं उपत्यकामा १३ सय ३२ जनाको आइसोलेसनमा, १ सय ८७ जनाको आईसियू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: २४ वैशाख २०७८ ०२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App