स्वास्थ्य

अस्पतालका आईसीयू प्रयोगबिहिन, बिरामी उपचार नपाएर छट्पटाउँदै

टीकापुर अस्पतालमा रहेको सघन उपचार कक्ष। तस्बिर: योगेश/नागरिक

कोरोना संक्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको  सघन उपचार कक्ष (आईसीयू)  प्रयोगबिहिन बनेको छ। एनेस्थेसिया र फिजिसियनको अभावमा ७ वटा भेन्टिलेटर सहितको आईसियू प्रयोगबिहिन जस्तै बनेको हो।  

अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भएपनि व्यवस्था हुन नसक्दा आईसीयूमा भर्ना गरेर उपचार गर्नु पर्ने कोरोना संक्रमित उपचार नपाएर छट्पटाई रहेका छन्। अस्पतालले हाल २० शय्याको एचडियू ९उच्च उपचार कक्ष० स्थापना गरेर कोरोना संक्रमितको उपचार गर्दै आएको छ।  

जहाँ १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. रमेश प्रसाद उपाध्यायका अनुसार हालसम्म अस्पतालमा कोरोनाको दोस्रो लहरबाट संक्रमित भएका मध्ये ७ जनाले ज्यान गुमाईसकेका छन्। ती मध्ये आज मात्रै २ जनाले ज्यान गुमाएका हुन्।

आईसीयू सञ्चालनमा आउन नसक्दा कोरोना संक्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनु पर्ने  बाध्यता छ। ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसक्दा समस्या  भइरहेको छ । स्थानीयले जनशक्तिको व्यवस्थापन गरेर भएपनि तत्काल आईसीयू सञ्चालन हुनु पर्ने माग गर्दै आएका छन्।  

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको बताए ।  ‘विगत लामो समयदेखी एनेस्थेसिया खोजीरहेका छौं पाउन सकेका छैनौं’ उनले भने –‘खै किन हो भेटिएका समेत आउन मान्दैनन्।’ कैलालीको पूर्वी भेगका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरीया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिंदै आएको यो अस्पतालले विगत लामो समयदेखी नै जनशक्ति अभाव भोग्दै आएको छ। १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल ५ जना मात्रै कार्यरत छन । ती मध्ये ३ जना करारमा कार्यरत छन्।

अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल २ जना मेडिकल अधिकृत र १५ जना स्टाफ नर्सको  माग गरेको जानकारी दिए। उनका अनुसार प्रदेश सरकारले हाल ७ जना मेडिकल अधिकृत खटाएको छ। टीकापुर नगरपालिका भित्र आजसम्म ६८ जना सकृय संक्रमित छन्। ती मध्ये ६० जना होम आईसोलेशनमा रहेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए। कोरोना संक्रमित मध्ये ६ जना निको भएर घर फर्किएका छन्। कोरोनाको जोखिम बढ्दै गएपछि स्थानीयमा त्रास फैलिएको छ। उनीहरु समयमा उपचार नपाउने चिन्ताले त्रसित बनेका हुन्।

प्रकाशित: २२ वैशाख २०७८ ०८:३९ बुधबार

आईसियु प्रयोगबिहिन जनशक्ति अभाव